काठमाडौं । नेपालले आज एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत उत्तर कोरियाको सामना गर्दैछ ।
यो खेल आज नेपाली समय अनुसार १: ४५ बजेदेखि शुरु हुने छ ।
खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानलबाट हुने छ ।
उत्तर कोरियाविरुद्ध खेल्ने नेपाली टिममा गोलकिपर लिला जोशी डिफेन्डर सरिता कुमारीनाथ, माया मास्के, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया खेलिरहेका छन् भने मिडफिल्डमा सुक्रिया मिया, बर्षा ओली र बिर्साना चौधरी छन् ।
त्यस्तै फरवार्डमा पूर्णिमा राई र मीना देउवा खेलिरहेका छन् । यसअघि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
नेपाल समुह ए मा अहिले २ खेलमा अपराजित रहदै ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानलाई १०–० गोल अन्तरले पराजित गरेको थियो । समुह ए बाट भुटान र साउदी अरेबिया छनौटको दौडबाट बाहिरिएका छन् भने नेपालले आफ्नो सम्भावना कायम राख्न उत्तर कोरियालाई पराजित गर्ने वा बराबरी खेल्ने विकल्प रहेको छ ।
नेपाल शिर्ष स्थानमा पुग्न उत्तर कोरियालाई २५ गोलको अन्तरमा पराजित गर्नुपर्ने अवस्था छ., जुन सम्भव देखिदैन । यस अवस्थामा नेपालले सामान्य जित र बराबरीको विकल्प लिएर मैदानमा उत्रिने छ ।
आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू–२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।
FACEBOOK COMMENTS