काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङले कारियन लगानीकर्ताहरूले नेपालमा लगानी गर्न धेरै इच्छा गरिरहेको बताएका छन् ।
आज मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा उनले कोरियन लगानीकर्ताले नेपालमा लगानी गर्न धेरै इच्छा देखाएकाले लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्री भण्डारीसँग आग्रह गरेका हुन् ।
उनले लगानी गर्न मिल्ने क्षेत्र पहिल्याउन आग्रह गर्दै तइयोङले मझौला उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्न कोरिया सरकार तयार रहेको पनि बताएका छन् । गाडीका पार्टपुर्जा ल्याउँदा र गाडीको ‘एसेम्बल’ गर्दा उही मूल्य पर्न जाने भएकाले भन्सार दर सहुलियत हुनुपर्नेमा पनि राजदूत तइयोङको जोड छ ।
भेटका अवसरमा उनले ‘मेड इन नेपाल’प्रति कोरियाली जनता अति प्रभावित रहेकाले नेपाली मालसामानको निर्यातमा सघाउन कोरिया सकारात्मक रहेको जानकारी गराए । कोरिया सरकारले नेपाललाई दिँदै आएको सहुलियत सन् २०२६ पछि पनि प्राप्त गर्ने वातावरणका लागि कोरियाको अर्थ मन्त्रलयमा आफूले कुरा गर्ने विश्वास व्यक्त गरे ।
यस्तै, ईपीएस प्रणालीमार्फत कोरिया पुगेका कामदारलाई कोरिया सरकारले दक्ष सीप सिकाएर उनीहरूलाई नेपाल फर्केपछि उत्पादनसित जोड्न सकिने राजदूत तइयोङले बताए ।
भेटका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको बताए । नेपालले कृषि, उद्योग र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान, सीप तथा प्रविधिबाट लाभान्वित हुन चाहेको मन्त्री भण्डारीको भनाइ छ ।
उनले राजदूत तइयोङसँग नेपालमा पछिल्ला दिनमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग गर्न कोरिया सरकार एवम् निजी क्षेत्रसमेतलाई आग्रह गरेका छन् । आगामी अप्रिल २८–२९ मा आयोजना हुने नेपालको लगानी सम्मेलनमा कोरियाली सरकार तथा निजी क्षेत्रको उल्लेख्य सहभागिताका लागि सहजीकरण गरिदिन मन्त्री भण्डारीले आग्रह गरे ।
थप समाचार पढ्नुहोस्–
नेपालको आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण विकास साझेदार हो : उद्योगमन्त्री भण्डारी
FACEBOOK COMMENTS