हलेसी र बराहक्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त, अन्य निर्णय के के ?
कर्पोरट खबर
9:32 pm, बिहीबार, जेठ १४, २०८३
- कोसी प्रदेश मन्त्रिपरिषद् बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरेको छ।
- बैठकले बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अभिझाल विष्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।
काठमाडौं । कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी राईलाई निर्देशकमा नियुक्त गरिएको प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए ।
बैठकले बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का अभिझाल विष्टलाई नियुक्त गर्ने निर्णय भएको छ ।
बैठकले आयोजना बैंक सूचना प्रणालीमा प्रविष्ट भएका आयोजनाको सूचीकृत विवरण कार्यान्वयनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरिएको छ ।
सिँचाइ व्यवस्थापन हस्तान्तरण कार्यविधिलाई थप व्यवस्थित बनाउन सिँचाइ कार्यविधि–२०८३ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको छ ।
यस्तै, बैठकले पुरानो घर भत्काउँदा निस्कने पुराना काठ आवश्यक प्रक्रिया पूरा गरी ओसारपसार गर्नका लागि खुला गर्ने निर्णय बैठकले गरेको छ ।