काठमाडौं । कोशी प्रदेश सरकारले इलामका बाढीपहिरोपीडितका निम्ति विभिन्न राहत सामग्री पुर्याएको छ । दुई ठाउँका एकसय परिवारलाई खाद्यान्न सामग्री पठाइएको हो ।
मंगलबार बिहान हेलिकोप्टरमार्फत राहत सामग्री पठाएको जनाएको छ । कोशीका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले तीव्र रूपमा राहत वितरण र पीडित परिवारलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाइएको बताए ।
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पठाएको बताएका छन । मुख्यमन्त्री कार्कीले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएकाले तत्कालका निम्ति हेलिकोप्टरमार्फत पठाइएको जानकारी दिए ।
प्रदेश सरकारले चामल, दाल, आलु, तेल, नुन, बेसार तथा ब्ल्यांकेट, सिरानी, म्याट्रेस, त्रिपालहरू इलाममा पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले बताए ।
असोज १७ र १८ गतेको अविरल वर्षासँगै बाढीपहिरोका कारण इलामका सूर्याेदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।
FACEBOOK COMMENTS