काठमाडौं । प्रभु बैंकका नवनियुक्त सञ्चालक समिति अध्यक्ष किशोरजङ्ग कार्कीले पद तथा गोपनीयताका शपथ लिएका छन् ।
कार्कीले आज सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् ।
साथै, कार्कीले आजै आफ्नो पदभार पनि ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।
राष्ट्र बैंकको कार्यालयमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर नीलम ढुङ्गाना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दीर्घ रावलको पनि उपस्थिति थियो । सो अवसरमा प्रभु बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति थियो ।
२०८१ पुस २९ मा सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभामा सर्वसाधारण समूहका शेयरधनीहरूको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका कार्की यही असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८०औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर गरेका कार्कीले यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रूपमा सेवा गरिसकेका छन् ।
त्यसैगरी, निजामती किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका उनले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर पनि काम गरेका छन् ।
कार्कीले ३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा रही विभिन्न आयोग, विभाग एवम् निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका छन् । उनको सबल नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवासाय अभिवृद्धि हुनाका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS