झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन्।
नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापना गरिएको १० शैय्याको सो आधारभूत अस्पतालले दैनिक चार सयभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले पुराना पुस्ताका आदर्श व्यक्तित्व भागीरथा न्यौपानेका सन्तानले जग्गा दान दिएर अस्पताल स्थापना गर्न सकेको उल्लेख गर्दै यसले सबैलाई सामाजिक सेवामा लाग्न प्रेरणा दिने बताए । ‘मर्दा कसैले केही लाने होइन, त्यसैले भागीरथाजस्ता व्यक्तित्वको योगदानबाट समाजलाई सेवा गर्ने प्रेरणा लिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले अस्पतालको थप स्तरोन्नति र सेवाविस्तारका लागि संघीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा विभिन्न विकास आयोजनाको उद्घाटन र जनसभा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
FACEBOOK COMMENTS