काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निहीत स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल भएको आरोप लगाएका छन् ।
नेपाल बुद्धिजीवी परिषदको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले जनतालाई सचेत हुन नदिने र सधैं पथभ्रष्ट बनाउने चक्रबाट बाहिर ल्याउन बुद्धिजीवी सचेत भएर लाग्नु पर्ने बताए ।
स्वार्थमा अल्झिएका शक्तिहरूले जनतालाई भ्रमित पार्न पनि सफल भएको बताउँदै अध्यक्ष ओलीले भने, ‘निहीत स्वार्थमा अल्झिएका शक्ति सत्ता कब्जा गर्न सफल भए । उनीहरु जनता अल्मल्याएर चटक गर्न उद्दत छन् । उनीहरू जनतामा भ्रम छरिरहेका छन् । जनताको चेतनालाई रोक्न खोजिरहेका छन् ।’
बौद्धिक जगतले जनतालाई सचेत गराउन जरुरी रहेको बताउँदै ओलीले भने, ‘पथभ्रष्ट बनेकाहरुलाई सही बाटोमा ल्याउने काम बुद्धिजीवीको हो । जनतालाई भ्रमबाट मुक्त गराउने आजको महत्वपूर्ण काम हो ।’
उनले बुद्धिजीविको काम रेललाई रेलको इन्जिनसँग तुलना गर्दै यसले समाजलाई सहि दिशातर्फ डोर्याउन मद्दत गर्ने बताए । देश विकास गर्ने भन्दा चर्को आवाज भ्रष्टाचार र राष्ट्रघातीहरुको भएको उनको भनाइ छ । त्यस्ता स्वर दबाएर विकासको काममा जनता डोर्याउन आवश्यक रहेको ओलीको भनाइ छ ।
FACEBOOK COMMENTS