काठमाडौं । राजसंस्था फर्काउन गठन गरिएको संयुक्त जनआन्दोलन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आइतबार दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
समितिले आगामी बिहीबार अर्थात् जेठ १५ गतेदेखि सुरू गर्न लागेको जनआन्दोलनलाई लक्षित गरी दिएको उत्तेजक र गैरजिम्मेवार अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।
संयोजक सुवेदीले आज सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वसाधारण जनताको रक्षा गर्ने तथा संविधानको पालना गर्ने/गराउने जिम्मेवारी बोकेको सरकार प्रमुखबाटै द्वन्द्व भड्काउने खालका अभिव्यक्तिहरू आउनु आश्चर्यजनक रहेको समेत बताएका छन् ।
यस्तो छ, समितिको विज्ञप्तिः
भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा जनताको चाहना अनुरूप संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनस्र्थापना गर्ने, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ संविधानप्रदत्त अधिकारको उपयोग गर्दै संयुक्त जनआन्दोलन समितिको आह्वानमा यही जेठ १५ गतेदेखि सुरु हुन लागेको जनआन्दोलनलाई लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिनुभएको उत्तेजक र गैरजिम्मेवार अभिव्यक्ति आपत्तिजनक रहेको छ ।
सर्वसाधारण जनताको रक्षा गर्ने तथा संविधानको पालना गर्ने गराउने जिम्मेवारी बोकेको सरकार प्रमुखबाट नै द्वन्द भड्काउने खालका अभिव्यक्तिहरु आउनु आश्चर्यजनक छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संविधानको भावना र लोकतन्त्रको मर्म विपरीत रहेको छ ।
प्रधानमन्त्रीको उत्तेजनापूर्ण अभिव्यक्तिका बावजुद हाम्रो आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने छ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप रहनेछ । बढीभन्दा बढी संख्यामा आन्दोलनमा सहभागी भएर सरकारको दमनकारी सोचको जवाफ दिन आम जनतामा म अपिल गर्दछु ।
FACEBOOK COMMENTS