काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायहरूमा धाउँदा धाउँदै नेपालमा उद्योगी तथा व्यवसायीहरू मरिच चाउरिएझैं चाउरिएको बताएका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारबाट व्यवसायीले सहजता नपाएको र उल्टै दुःख पाइरहेको घटनाक्रमहरूको चर्चा गर्दै उनीहरू मरिच चाउरिए जस्तै चाउरिएको बताएका हुन् ।
‘व्यवसायीले सरकारबाट उल्टै दुःख पाइरहेको गुनासो आइरहेको छ । सरकार स्टन्टबाज भयो, सरकारले थुन्ने अनि सुन्ने काम गर्यो भन्ने जस्ता गुनासा लिएर सरकारी निकाय धाउँदा धाउँदै निजी क्षेत्रले आफ्नो व्यवसाय नै गर्न नपाएको गुनासो आएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो लाग्छ घटेको बजार माग र सरकारी तौरतरिकाका कारण उद्योगी व्यवसायीहरू मरिच चाउरिएजस्तै चाउरिएका छन् ।’
प्रधानमन्त्री ओलीले विकास निर्माणका काम लथालिङ्ग भएको, करिब ६० लाख भन्दा ढबी जनता निरपेक्ष गरिबीको भुङ्ग्रोमा पिल्सिरहेको र भ्रष्टाचारले सीमा नाघेकोलगायत अवस्थालाई दृष्टिगत गरी नयाँ सरकार गठन भएको बताएका छन् । उनले देशप्रति जनताको भरोसा टुटेको भन्दै यो डरलाग्दो अवस्था भएको चर्चा गरेका छन् ।
FACEBOOK COMMENTS