काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरू बन्द गराएर डेडिकेटेड र ट्रंक लाइनको महसुलबारेको विवाद समाधान नहुने बताएका छन् ।
आज आइतबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले उद्योगी र सरकारबीचको विवाद समाधान उद्योगमा लाइन काटेर नभइ दुवै पक्ष बसेर प्रमाणका आधारमा गरिने छलफलबाट निस्किने बताएका हुन् ।
‘माननीयहरूले बडो चिन्ता गर्नुभयो । पैसा उठाउन दिइएन । बिजुलीको पैसा नउठाउनु भनेर आदेश गर्यो । पहिलो सबै कुराको सत्य त बुझ्नुस् । आजको कुरा होइन । नौ वर्षअगाडिको कुरा हो । लाइन काटिएको आज पहिलोपल्ट पनि होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘उद्योग बन्द गराएर मजदुरहरूको बर्बादी, उद्योग चलेन उत्पादन भएन, मेसिन रोकिए, सप्लाइ रोकिए, बजारमा सप्लाइ रोकियो, बाहिर पठाउने सामान भए त्यो पनि रोकियो । हामीले सामान नपठाएपछि बिक्रेताले शोरुम खाली गरेर बस्दैन । उसले अर्कै खोज्छ, भोलि हाम्रो सामान नबिक्न सक्छ । त्यसकारण उद्योगलाई दिइरहेको बिजुली दिन भनेको हुँ ।’
लाइन काट्ने र केही कुरा मिलाएर समाधानबिनै फेरि लाइन दिने परिपाटीले विवाद समाधान नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यसअघि पनि लाइन काटिएको थियो । के–के मिलाइए फेरि लाइन दिए । फेरि काटिन्छ के–के मिलाएर दिइन्छ । यसरी भएन,’ उनले संसदमा प्रश्न गरे, ‘६ वटा उद्योगको काट्ने अरुको किन नकाटेको ?’
उद्योगीले विल तिर्दिन नभनेको भन्दै प्रधानमन्त्री ओलीले प्राधिकरणले खपत गरेको विल दिनुपर्नेमा जोड दिएका छन् । ‘हामीले जति उपभोग गरेको हो त्यसको तिर्छौँ भनेका छन् । प्रयोग कुन गरेको हो सरकारले त्यसको बिल त दिनु पर्यो नि । मलाई तिमी धनी छौँ । तिमीसँग यति असुल गर्न मन छ । यति मलाई चाहिन्छ भनेर हुन्छ र ?,’ ओलीको प्रश्न छ ।
उनले अगाडि भने, ‘ट्रंक र डेडिकेटेड लाइन भनेको तार जोड्ने होइन बिजुली सप्लाइ गर्ने हो । बिजुली सप्लाइ हुनुपर्यो त्यहाँ । सम्झौता २४ सै घण्टा बिजुली सप्लाइ गर्ने भनेको छ । लोडसेडिङ गरेर केही घण्टा मात्रै पाएपछि विवाद देखिएको छ । विवाद बसेर प्रमाणको आधारमा सल्टाउनुपर्छ कि उद्योग बन्द गराइदिने ?’
FACEBOOK COMMENTS