काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे आफूले जवाफ दिइरहनु आवश्यक नरहेको बताएका छन् । विपक्षी दलहरूले यसबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद् अवरोध गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।
आज (बुधबार) राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा उनले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केही छाती पिटी–पिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने बताए ।
‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्काे नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूलाई सहयोग हुने, उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’
प्रधानमन्त्री ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताए ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए ।
‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिएझैँ झम्टन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाए ।
उनले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’
कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे मन्तव्य दिएका थिए ।
FACEBOOK COMMENTS