ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको बताएका छन् ।
महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा आजबाट ललितपुरमा सुरु भएको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक कुरामा नअल्झिएर देश विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल विद्युत् प्राधिकरणका बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनलाई पुनर्बहाली गर्नुपर्ने पक्षमा दश–पन्ध्र हजार जनाको जुलुस निस्कदैँमा केही फरक नपर्ने बताए । देशमा अहिले ९७ प्रतिशत नागरिकको घरमा विद्युत् पुगिसकेको तथा सरकार उत्पादन बढाउने काममा लागिरहेको उनको भनाइ छ ।
‘देशलाई पछि फर्काउन एउटा पक्ष लागिरहेको छ । दश–पन्ध्र हजारको जुलुस निस्कँदैमा उत्पात केही हुँदैन, अहिले ९७ प्रतिशत जनताको घरमा विद्युत् पुगेको छ, विद्युत् उत्पादन बढाउने काममा अघि बढेका छौँ,’ उनले भने ।
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले युवा पुस्ताले सूचना प्रविधिको क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै खुसी व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, ‘आजको समय कम्प्युटरको समय हो, एआई प्रविधिको समय हो, महिलाहरूले पनि धेरै काम गर्नुभएको छ, आजको मेला महिलामा पनि आमाहरूको मेला हो, अब छोरी पुस्ताले पनि उद्यमशीलतामा ध्यान दिनुपर्छ, दिदीबहिनीका प्रयासलाई म धन्यवाद भन्न चाहन्छु ।’

जकडिएर रहेका केही सामन्ती सोच र व्यवहारका कारण देश अगाडि बढ्न नसकेको चर्चा गर्दै उनले भने, ‘बाह्य रूपमा कायम रहेको उपनिवेश, देशभित्रै रहेको सामन्ती प्रथा, वर्णाश्रम व्यवस्थाले दबाइएको परिस्थितिका कारण हाम्रो समाज अगाडि बढ्न सकेन, महिलालाई शिक्षा–दीक्षा दिनुहुँदैन भन्ने सामन्ती सोच थियोे, खुसी हुन पनि नपाइने समाज थियोे, महिलालाई पछाडि पारेपछि देशको विकास नहुने नै भयो ।’

प्रधानमन्त्री ओलीले सो अवसरमा मानव ओसारपसार तथा बेचबिखनविरुद्ध अविच्छिन्न रूपमा काम गर्दै आएको संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र उद्यमशीलता क्षेत्रमा योगदान गर्नुभएकोमा दाङ घोराहीका प्रेम कुमारी पुनलाई सम्मान गरे ।

महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले देशका ७७ जिल्लामध्ये ७२ जिल्लामा महासङ्घ मातहतको जिल्ला सङ्घ गठन भइसकेको जानकारी गराइन् । उनले महासङ्घले महिला उद्यमीहरूको सवाल र सरोकार सुनिश्चितताका पक्षमा वकालत गर्दै आएको बताइन् ।
ललितपुरको हेरिटेज गार्डेनमा आजबाट सुरु भएको व्यापार मेला यही चैत १८ गतेसम्म सञ्चालन हुने जानकारी गराउँदै अध्यक्ष ज्ञवालीले यस अवधिमा दुई करोड २५ लाखभन्दा रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको बताइन् ।