काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक हुने बताएका छन् ।
आज बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्र देश विकासका लागि आत्मविश्वासका साथ कम्मर कसेर लागेको बताए ।
हालको समग्र अवस्था सन्तोषजनक नरहेको तर तीव्र गतिमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औँल्याएका हुन् ।
‘देशको अर्थतन्त्रलाई अघि बढाउन निजी क्षेत्रको, निजी क्षेत्रका क्रियाकलापको, निजी क्षेत्रका उद्योग व्यवसायको स्थापना, सञ्चालन, संरक्षण, प्रवर्द्धन, तिनको विकास र विस्तारको आवश्यकता, औचित्य हामीले के कति प्रगति गरेका छौँ, कस्तो स्थितिबाट कतिमा आएका छौँ, सन्तोषजनक स्थिति त्यै पनि छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ । यसमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ ।’
उनले सरकार र निजी क्षेत्रको सहकार्यका नमुनाका रूपमा अगाडि बढेको पनि बताए । नीतिग सुधारका लागि वर्तमान सरकारलाई बाध्य बनाउन निजी क्षेत्रले प्रेरित गरे पुग्ने र आन्दोलन गरिरहनु आवश्यक नहुने प्रधानमन्त्रीको भनाइ छ ।
‘सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।’
प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिन विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाए । उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि स्पष्ट गरे ।
कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।
FACEBOOK COMMENTS