काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाल चर्चामा रहेका कोही पनि पात्रहरू नयाँ नभएको बताएका छन् ।
चुनावी घोषणापत्रमा व्यक्त राजनीतिक सन्देशमार्फत उनले पछिल्लो समय नेपाली समाजमा ‘नयाँ र पुरानो’ भनेर असान्दर्भिक भाष्य खडा गरी भ्रम सृजना गरिएको भन्दै हाल चर्चामा रहेका कोही पनि नयाँ नभएको तर्क गरेका हुन् । हाल नयाँ भनिएकाहरू कुनै न कुनै रूपबाट परीक्षण भइसकेको उनको भनाइ छ ।
‘आज नयाँ कि पुरानोको असान्दर्भिक भाष्य खडा गर्ने प्रयत्न पनि देखिन्छ, सुनिन्छ । आम मतदातालाई जानकारी नै छ, आज नयाँ भनिएका कोही पनि नयाँ हैनन्,’ खासगरी रवि लामिछाने र बालेन्द्र साहप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘हामी कोही पनि भ्रममा पर्न हुँदैन । नयाँ भनिने समेत कोही पनि परीक्षण हुन बाँकी छैनन् । चर्चामा रहेका पात्रहरूले स्थानीय होस् कि संघीय सरकार, त्यसमा सहभागी भइ आफ्नो ‘क्षमता र हैसियत’ देखाइसकेका छन् ।’
अध्यक्ष ओलीले एमालेका विगतका आफ्ना कामका अभिलेखहरू नै रहेको चर्चा गर्दै आन्दोलनमा मात्रै होइन नीति, सुशासन र विकास निर्माणमा समेत एमालेले आफूलाई ‘नेता’ सावित गरिसकेको बताएका छन् । ‘हाम्रो कार्यशैली प्रमाणित छ– लक्ष्य तोकेर अघि बढ्ने, जे थालिन्छ, सम्पन्न गर्ने । जे बोलिन्छ, पूरा गर्ने !’ उनले भनेका छन् ।
FACEBOOK COMMENTS