काठमाडौं । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई आज एकाएक चर्चाको केन्द्रमा छिन् । थुप्रैले उनको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । मन्त्री पदबाट राजीनामा दिएको केही दिनमै सर्वसाधारण यात्रु चढ्ने भनिने टेम्पोमा उनी यात्रारत तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको चर्चा र प्रशंसा चुलिएको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै गत चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू सङ्घीय राजधानी काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनमा आफ्नो सकारात्मक प्रयासका बाबजुद सरकारबाट असहयोग भएपछि वैशाख ८ गते भट्टराईले नैतिकताका आधारमा पदबाट राजीनामा दिएकी थिइन् । भलै उनले प्रधानमन्त्रीलाई बुझाएको राजीनामापत्रमा राजीनामाको कारण आफ्नो स्वास्थ्य देखाए पनि वास्तविकता भने त्यस्तो देखिँदैन । स्वास्थ्यकै कारण उनले राजीनामा दिएकी हुन् भनेर सहजै पत्याइहाल्न सकिने अवस्था पनि छैन ।
आफ्नो राजीनामाको पाँचौँ दिन (वैशाख १२) देखि सुरु भएको संसद्को बजेट अधिवेशनको पहिलो दिनको बैठकमा नै उनी सहभागी भएकी थिइन् । स्मरणीय विषय के छ भने अहिले सामाजिक सञ्जालमा उनी टेम्पोमा यात्रारत तस्बिरहरू सोही दिन संसद् बैठक सकिएपछि डेरा फर्कँदै गर्दाका हुन् । र, ती तस्बिरहरू नेकपा (एमाले) कै अर्का सांसद तारा लामा तामाङले खिचेका हुन् ।
वैशाख १२ को संसद् बैठक सकिएपछि लामा डेरा फर्किनका लागि संसद् भवनको ३ नम्बर गेटमा पठाओको मोटसाइकल कुरिरहेका थिए । त्यहीबीच उनल निवर्तमान शिक्षामन्त्री भट्टराई पनि संसद् बैठकपछि निवास फर्किन टेम्पो चढ्दै गरेकोे देखे । त्यसपछि आफ्नो मोबाइलबाट उनले केही तस्बिरहरू खिचे ।
फेसबुकमा आज आइतबार ती तस्बिरहरू राख्दै सांसद तामाङले लेखेका छन्, ‘प्रतिनिधिसभा २०७९, छैटौं अधिवेशनको पहिलो दिन (२०८२/१/१२) को बैठक सकिएपछि संसद् भवनको ३ नम्बर गेट बानेश्वरमा म डेरा जानको लागि पठाओको मोटरसाइकलको पर्खाइमा थिएँ । निवर्तमान मन्त्री माननीय विद्या भट्टराईज्यू संसद् बैठकपश्चात् निवासतिर प्रस्थान गर्ने क्रममा टेम्पोमा चढ्दै गरेको देखेँ र मैले लिएका उहाँका केही फोटोहरू मन परेकोले पोष्ट गरेँ है ।’
मूल विषयमा प्रवेश गरौँ ।
मन्त्रीले टेम्पो चढ्नु कुनै ठूलो कुरा होइन । जो जतिसुकै उच्चपदस्थ होस्, सबैभन्दा पहिला ऊ पनि आमनागरिक नै हो । विश्व इतिहासमा यस्ता थुप्रै प्रभावशाली राजनीतिज्ञ थिए जो साइकल चढेर वा पैदल नै हिँडेर कार्यालय र निवास आउजाउ गर्थे । अहिले पनि कति छन्/होलान् । तर, जतिसक्दो राज्यस्रोतको दुरुपयोग गर्ने र पदबाट बाहिर रहँदासमेत सरकारी सुविधा उपभोग गर्न नछाड्ने नेपालका नेताहरूको आचरणले गर्दा यस्ता विषय ठूला बन्छन्/बनाइन्छन्/बनेका हुन् ।
एक हिसाबमा, यही अवस्थाले गर्दा पनि निवर्तमान शिक्षामन्त्री भट्टराई प्रशंसाको पात्र बनेकी हुन् । साथै, यहाँ सम्झनुपर्ने अर्को विषय के पनि छ भने भट्टराई मन्त्री हुनुअघिसम्म पनि सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् भने मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सवारी परित्याग गरेकी थिइन् । यहीकारण पनि सर्वसाधारणले निवर्तमान मन्त्री भट्टराईको उदाहरण दिँदै अन्य मन्त्री र नेताहरूले पनि यस्तै गरे कति राम्रो हुन्थ्यो भन्ने विचार व्यक्त गरिरहेका छन् ।
विडम्बना यो छ– राजीनामा दिएर सत्ताबाहिर रहेकी निवर्तमान मन्त्री भट्टराईले जनमानसबाट प्रशंसा पाइरहँदा सरकारका बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली भने गाली खाइरहेका छन् । उनकै असहयोगका कारण भट्टराईले मन्त्री पदबाट राजीनामा दिएको टिप्पणीहरू अझै पनि भइरहेका छन् । प्रधानमन्त्री ओलीले कामै गर्न नदिएपछि भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएको कतिपयको बुझाइ छ । सञ्चार माध्यमहरूमा समेत प्रधानमन्त्रीको असहयोगपछि भट्टराईले राजीनामा दिनुपरेको समाचारहरू प्रकाशित भए । कतिपयले त भट्टराईको सट्टा प्रधानमन्त्री ओलीको राजीनामा आउनुपर्ने पनि भने/अझै भनिरहेका छन् ।
अनि, प्रधानमन्त्री विवश छन्– यी कुराहरूको खण्डन गर्दै हिँड्न । आफू हाँसो, घृणा र गालीको पात्र बन्नुपरेकाेमा उनी रुष्ट छन् । सार्वजनिक कार्यक्रमहरूमा गर्दै आएका थुप्रै भाषणहरूमा उनले आफूले गाली खानुपर्दाको रोष प्रकट गरेका छन्, चाहे त्यो निवर्तमान शिक्षामन्त्री भट्टराईको सवालमा होस् वा अरू नै अलग विषय । धेरै टाढा जानुपर्दैन, यसलाई पुष्टि गर्न भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएको भोलिपल्ट (वैशाख ९) कै एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको भाषणलाई लिए पुग्छ । ओलीले त्यसदिन बोलेको विषय लिखित रूपमा जस्ताको तस्तै र सँगै तल प्रमाणस्वरूप भिडिओ पनि उपलब्ध गराइएको छ ।
‘एक जना मन्त्री (विद्या भट्टराईतर्फ सङ्केत गर्दै) ले राजीनामा दिनुभो भन्ने खुब प्रचारबाजी छ । किन दिनुभो भन्दा प्रधानमन्त्रीले बसिखानै दिएन र । मैले बनाको मन्त्री, मैले काम गराइराख्या छु, सहयोग गरिराख्यु छु, सिकाइराख्या छु । उहाँले अस्ति भर्खर पनि अपरेशन गर्नुभो घाँटीको, अलि स्वास्थ्य पनि ठीक भएन । धेरै ठूलो मन्त्रालय छ शिक्षा मन्त्रालय । सजिलो पनि छैन । त्यसो भएर उहाँले स्वास्थ्यको कारण देखाउनुभएको छ । स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नुभएन । आजको अखबार हेर्नुपर्छ, सबैको हेडलाइन मेरा विरुद्ध छ । यो त कस्तो भने आश्चर्यको पनि अनौठो आश्चर्य लाग्छ हौ, यस्तो दुश्मनी के कारणले हो ? सबैले एकै ठाउँ बसेर सल्लाह गरेर लेखेजस्तै गर्छन् । मानिलिऔँ प्रस्ताव राखेर पारितै गरेर यही लेख्ने भनेर लेखेजस्तै सबैले टेलिफोन संवाद गरेर योजनाबद्ध ढङ्गले लेखेका छन् । आजका पेपरहरूका हेडलाइन हेर्नुस्, सबैका । सरकारले असहयोग गरेर… कोही–कोही ठाउँमा लेख्या होलान्, नत्र भने प्रधानमन्त्रीले असहयोग गरेर, प्रधानमन्त्रीसँगको मतभेदबाट । अनि धेरैलाई लाग्या रछ, कोही–कोही नयाँ शक्तिहरूले त भनेछन् पनि– शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनुपर्थ्यो भनेर । प्रधानमन्त्रीको राजीनामा मैले भन्ने गर्या छु त १५ महिनापछि आउँछ भनेर । हाम्रो सहमति नै छ नेपाली कांग्रेससँग– १५ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ । स्पष्टै छ यसमा । १५ महिना पर्ख न मेरो राजीनामा हेर्ने मन छ भने । पर्ख, पर्ख, १५ महिना पर्ख ।’
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS