काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमाले आजबाट ध्वस्त हुन्छ भन्ने आशा गरे पनि त्यस्तो केही नभएको बताएका छन् ।
शनिबार राष्ट्रिय सभागृहमा मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एमाले एक रहेको र एक भएर अगाडि जाने बताउँदै विरोधीहरूले आशा गरेजस्तो आफू र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच विवाद नहुने बताए ।
उनले भने, ‘यस कार्यक्रमबाट विभिन्न आशा गरेका छन् । यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीले बम पड्काउनुहुन्छ, ड्याङडाङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरू हुन्छ, यो सपना देखेर बसेका छन् । कुनै बम–बन्दुक–बारुद गोला पड्किँदैन, आशा नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ । आशा पनि कस्ता–कस्ता आशा गरेको !’
ओलीले सम्बोधनका क्रममा मदन भण्डारीलाई आफूहरूकै पहलमा महासचिव बनाएको उल्लेख गर्दै अहिले मदनको जबज सिद्धान्त लागू गरिरहेको बताए । उनले जबज अलमलको सिद्धान्त नभएर मार्गदर्शनको सिद्धान्त भएको बताउँदै एक भएर अगाडि बढ्नुपर्ने बताए ।
ओलीले भने, ‘जनताको बहुदलीय जनवादको पृष्ठभूमि या त्यसको आधारको विचारहरू तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा मदन भण्डारीको अगुवाइ थिएन, हाम्रो अगुवाइ थियो, अरू साथीहरूको अगुवाइ थियो । मदन भण्डारीले म बन्छु भन्नुभएको थिएन, हामीले नै बनाएका थियौँ ।’
FACEBOOK COMMENTS