काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले सत्तारुढ दलसँग छलफल नै नगरी बजेट ल्याएको बताएका छन् ।
आज शनिबार काठमाडौंमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै संसदीय दलको नेता समेत रहेका अध्यक्ष ओलीले बजेटबारेमा पर्याप्त परामर्श नहुँदा धेरै कुरा छुटेका बताएका हुन् ।
‘यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो, छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ’, उनले भने ।
अध्यक्ष ओलीले बजेट बाँडफाँट पनि अलि एकातिर ढल्किएको जस्तो भएको बताएका छन् । बजेट निर्माणको क्रममा गम्भीर त्रुटी भएको उनले औँल्याएका छन् । ‘यो कमी रहेको छ, यो निर्माण प्रक्रियामा नै कमजोरी रहने गयो’, ओलीले भने ।
एमालेको लक्ष समाजवाद निर्माणको आधार भएको बजेट त्यस तर्फ उन्मुख हुनुपर्ने उनले बताए । बजेटमा रहेको कमी संघीय संसद्को बैठकमा औँल्याउन उनले आग्रह गरे । तथापि सरकारले बजेटको समर्थन गर्ने र पास गर्ने उनले स्पष्ट पारे ।
कुन–कुन मन्त्रालयमा कुन–कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ यी सबै विषयमा अध्ययन गरी सुझाव दिन उनले सांसदहरूलाई आग्रह गरेका हुन् । एउटालाई अनुकूल र अर्कालाई प्रतिकूल विषय बजेटमा भएका त्यसलाई सच्याउनुपर्नेमा अध्यक्ष ओलीको जोड छ ।
ओलीले बजेटमा परेका कतिपय शब्दको विषयमा समेत असहमति जनाए । प्रयोग गरिएका कतिपय शब्दहरूले त्यसको भाव बोक्न नसकेको पनि उनले उल्लेख गरेका छन् ।
साना उद्योगको विकास र प्रवर्द्धनमा बजेट मौन रहनु दुःखद : घरेलु तथा साना उद्योग महासंघ
FACEBOOK COMMENTS