काठमाडौं । फागुन २१ गते सम्पन्न आम निर्वाचनमा अनपेक्षित पराजय भोगेपछि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हारलाई सहजतापूर्वक स्वीकार गरेका छन् ।
आफू र आफ्नो पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसके पनि लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने भन्दै उनले मतदाताको मतलाई पूर्ण सम्मान गर्ने बताएका हुन् । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै फेसबुकमार्फत अध्यक्ष ओलीले आफ्नो हार र पार्टीको प्रदर्शनप्रति संक्षिप्त तर गम्भीर धारणा सार्वजनिक गरेका हुन् ।
अध्यक्ष ओलीले सूर्य चिह्नमा मतदान गर्ने र कठिन परिस्थितिमा पनि साथ दिने शुभेच्छुकहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो ।’
उनले हारका बाबजुद पनि कार्यकर्ता र स्वयंसेवकहरूको मेहेनतलाई कदर गर्दै उनीहरूको विश्वास नै आफ्नो आगामी दिनको शक्ति हुने उल्लेख गरे । यस्तै, उनले निर्वाचनमा पराजित भए पनि जनताप्रतिको आफ्नो र पार्टीको प्रतिबद्धतामा कुनै आँच नआउने ओलीले प्रष्ट पारेका छन् ।
लामो समयदेखि नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेका ओली र एमालेको यो पराजयलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । तर, ओलीले जुन ‘स्पोर्टसम्यान स्पिरिट’ देखाउँदै हार स्वीकार गरेका छन्, त्यसले लोकतान्त्रिक अभ्यासमा एउटा सकारात्मक सन्देश दिएको छ ।


FACEBOOK COMMENTS