काठमाडौं । प्रहरीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परिवारको जिम्मा लगाएर छाडेको छ ।
उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो । तर, मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि छाडिएको हो । सर्वोच्चले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो ।
प्रहरीको गणबाट रिहा भए रमेश लेखक

पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् ।

पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।