काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताएका छन् ।
दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नका लागि सरकारले यस्तो व्यवस्था गरेको उनले बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नम्र्स, २०८२ जारी गर्दै सूचना प्रविधि क्षेत्रमा काम गर्नेको न्यूनतम पारिश्रमिक ४० हजारदेखि दुई लाख रुपैयाँसम्म तोकेपछि प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको हो ।
‘सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ ।’
सरकारले गरेको यो नवीन व्यवस्थाबाट सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने विश्वास प्रधानमन्त्री ओलीको छ । आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम भएको उनले बताएका छन् ।
FACEBOOK COMMENTS