काठमाडौं । तामाङ राष्ट्रिय मुत्ति मोर्चा, नेपालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला घिसिङमाथि कुनै पनि प्रकारको कारबाही हुनसक्ने आशङ्काका साथ मोर्चाले प्रतिकारस्वरुप आन्दोलनको चेतावनी दिएको हो ।
डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्ने सम्बन्धमा विकसित घट्नाक्रमबारे आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै मोर्चाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विद्युत् प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्डा हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।’
के भन्छन् प्रधानमन्त्री ?
प्रधानमन्क्री नियुत्त हुनेबित्तिकै लाइन काटिएका उद्योगहरूमा विद्युत् आपूर्ति सहज गर्न निर्देशन दिएका केपी ओलीले भने डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छलफलबाट टुङ्ग्याउनुपर्ने बताउँदै आएका छन् । बिजुली काटेर उद्योगहरू बन्द गराएर डेडिकेटेड र ट्रंक लाइनको महसुलबारेको विवाद समाधान नहुने भन्दै उनले उद्योगी र सरकारबीचको विवाद समाधान दुवै पक्ष बसेर प्रमाणका आधारमा गरिने छलफलबाट निस्किने बताएका छन् ।
‘अहिले धेरैले चिन्ता व्यक्त गरिरहनुभएको छ पैसा उठाउन दिइएन । बिजुलीको पैसा नउठाउनु भनेर आदेश गर्यो । पहिला सबै कुराको सत्य त बुझ्नुस् । आजको कुरा होइन । नौ वर्षअगाडिको कुरा हो । लाइन काटिएको आज पहिलोपल्ट पनि होइन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्योग बन्द गराएर मजदुरहरूको बर्बादी, उद्योग चलेन उत्पादन भएन, मेसिन रोकिए, सप्लाइ रोकिए, बजारमा सप्लाइ रोकियो, बाहिर पठाउने सामान भए त्यो पनि रोकियो । हामीले सामान नपठाएपछि बिक्रेताले शोरुम खाली गरेर बस्दैन । उसले अर्कै खोज्छ, भोलि हाम्रो सामान नबिक्न सक्छ । त्यसकारण उद्योगलाई दिइरहेको बिजुली दिन भनेको हुँ ।’
लाइन काट्ने र केही कुरा मिलाएर समाधानबिनै फेरि लाइन दिने परिपाटीले विवाद समाधान नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यसअघि पनि लाइन काटिएको थियो । के–के मिलाइए फेरि लाइन दिए । फेरि काटिन्छ के–के मिलाएर दिइन्छ । यसरी भएन,’ उनले प्रश्न गरे, ‘६ वटा उद्योगको काट्ने अरुको किन नकाटेको ?’
उद्योगीले बिल तिर्दिन नभनेको भन्दै प्रधानमन्त्री ओलीले प्राधिकरणले खपत गरेको बिल दिनुपर्नेमा जोड दिएका छन् । ‘हामीले जति उपभोग गरेको हो त्यसको तिर्छौँ भनेका छन् । प्रयोग कुन गरेको हो सरकारले त्यसको बिल त दिनु पर्यो नि । मलाई तिमी धनी छौ, तिमीसँग यति असुल गर्न मन छ । यति मलाई चाहिन्छ भनेर हुन्छ र ?,’ प्रधानमन्त्री ओलीको प्रश्न छ ।
उनले अगाडि भने, ‘ट्रंक र डेडिकेटेड लाइन भनेको तार जोड्ने होइन बिजुली सप्लाइ गर्ने हो । बिजुली सप्लाइ हुनुपर्यो त्यहाँ । सम्झौता २४ सै घण्टा बिजुली सप्लाइ गर्ने भनेको छ । लोडसेडिङ गरेर केही घण्टा मात्रै पाएपछि विवाद देखिएको छ । विवाद बसेर प्रमाणको आधारमा सल्टाउनुपर्छ कि उद्योग बन्द गराइदिने ?’
FACEBOOK COMMENTS