काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८३ वर्षीया राममाया रानाभाटसँग भेट गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न आज पोखरा पुगेका ओलीले पोखरा महानगरपालिका–१६ दीपकी राममाया रानाभाटसँग भेट गरेका हुन् ।
निरङ्कुश पञ्चायती कालमा आफूलाई पोखरास्थिति जेलमा राख्दा बेलाबखत खाना लिएर आउने गरेको उल्लेख गर्दै ओलीले रानाभाटसँगको भेटले अतिनै खुसी तुल्याएको बताएका छन् ।
उनीसँगको भेटबारे तस्बिरसहित प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्–
पोखरा महानगरपालिका–१६ दीपमा बसोबास गर्नुहुने राममाया रानाभाट दिदी ८३ वर्षकी हुनुभयो । निरङ्कुश पञ्चायती कालमा मलाई बिना अभियोग जेल राख्ने क्रममा काठमाडौंको नख्खु जेलबाट २०३९ साल माघ ३ गते पोखरा जेल सारिएको थियो । अभियोग केही थिएन, शान्ति सुरक्षा खलल पार्ने आशंका भनिएको थियो । तीन वर्षसम्म पोखरा जेलमा बस्दा राममाया दिदी मलाई कहिलेकाहीँ खाना लिएर भेट्न आउनुहुन्थ्यो । उहाँ मलाई बाबू भनेर सम्बोधन गर्नुहुन्छ ।
आज पोखरा जाँदा उहाँसँग भेट भयो/सञ्चो बिसञ्चो कुराकानी भयो । यसअघि पोखरा जाँदा पनि भेटेको थिएँ । राममाया दिदीसँग भेटेर खुसी लागेको छ ।
FACEBOOK COMMENTS