काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बुझाएको लिखित बयानमा भदौ २४ गते नेपाली सेना परिचालन गर्न प्रायस गरेपनि त्यो सम्भव हुन नसकेको उल्लेख गरेका छन् ।
जाँचबुझ आयोगमा दिएको लिखित बयानमा उनले २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको र आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको उल्लेख गरेका छन् ।
त्यसै ओलीले आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको र २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको बताएका छन् ।
त्यस्तै ओलीले गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको आफ्नो जवाफमा उल्लेख गरेका छन् ।
आयोगले घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा ओलीलाई विदेश भ्रमणमा रोक र अनुमति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै विदेश भ्रमणमा रोक र स्थान हद सोमबार फुकुवा गरेको छ ।
ओलीलाई आयोगले आइतबार बयानको पत्र काटेकोमा पत्र लिएर आफ्नो निवास गुण्डु गएको आयोगको टोलीलाई उनले लिखित बयान पठाएका थिए ।

FACEBOOK COMMENTS