काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले २७ असारमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सहमतिका बुँदा तयार गर्ने कार्यदलका सदस्यसँग सिंहदरबारमा आइतबार छलफल गर्दै सांसदहरूले १० बुँदे कार्यान्वयनमा जोड दिएका हुन् । सांसद र कार्यदलका सदस्यहरूले पार्टी एकतालाई जोगाएर १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएको छलफलमा सहभागी सांसद एवं एमाले पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले बताए ।
एमालेद्वारा गठित विवाद समाधान कार्यदलले २७ असारमा पार्टी एकताका लागि १० बुँदे सहमति गरे पनि नेपालले त्यसलाई स्वीकार गरेका छैनन् । नेपाल पक्षबाट कार्यदलमा सहभागी भएका भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतले सहमति कार्यान्वयन गरेर जानुको विकल्प नभएको जनाउँदै पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने विचार राखेका थिए ।
को छलफलमा एमाले सचिव एवम सांसद योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, झपट रावल लगायतका सांसदले १० बुँदे सहमतिलाई अक्षरशः पालना गर्दै पार्टी एकतालाई कायम राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । एमाले विभाजनको सँघारमा पुगेका वेला दुवै पक्षका सांसद तथा विघटित कार्यदलका सदस्यहरू पार्टी एकता जोगाउन कसरत गरिरहेका छन् ।
पार्टीभित्रका अन्तर्घातीलाई नङ्ग्याउनु पर्छ : ओली
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका अन्तरघातीलाई नङ्ग्याउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दैं अध्यक्ष ओलीले पार्टीलाई ध्वस्त पार्न खोज्नेबाट जोगाउनु पर्ने बताए ।
स्वार्थको किनबेचबाट भन्दा पनि विचार र सिद्धान्तमा केन्द्रित भई अनुशासनमा बाँधिएको अग्रगामी शक्ति एमाले भएको ओलीको भनाई छ । ओलीले पार्टीका केही मानिस प्रतिक्रियावादीका पछि हिँडेर आन्दोलन कमजोर बनाएको बताए ।
प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर आफ्नै सरकार ढाल्ने, पार्टी फुटाएर सजिलो बनाइदिएका घटना पनि आफूहरूले देखिरहेको ओलीको भनाई छ । ‘त्यस्तालाई पार्टीले क्षमा गर्छ । साथीहरू गल्ती नगर्नुस्,’ ओलीले भने । पार्टीको पक्षमा उभिन पनि आग्रह गरेका छन् । बाटो बिराएर गएकालाई फर्केर आउन उनले आग्रह गरेका छन् ।
यस्तै ओलीले देशको मुहार फेर्ने अभिभारा भएको पार्टी एमाले भएको बताएका छन् । उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको बताए । ओलीले भने, ‘एमाले कुनै गुण्डा दल होइन । परिपक्व राजनीतिक पार्टी हो । यसलाई देशको मुहार फेर्ने अभिभारा छ ।’ उनले देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको पनि बताए ।
FACEBOOK COMMENTS