काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले लोकतन्त्रलाई सुदृढ तुल्याउन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै अध्यक्ष ओलीले भने, “सत्ताका लागि नभइ सुशासन, भ्रष्टचार न्यूनीकरणका लागि साझा सहमति कायम गर्न सकिन्छ ।”
बहस र तर्कले जनताको पेट भरिने र उद्योग नफस्टाउने उल्लेख गर्दै उनले कहिले देश र जनताप्रति इमान्दार भएर राजनीतिक गर्ने त ? भनी प्रश्न गरे । बदलिँदो अवस्थामा राजनीतिक दल र सरकार नयाँ ढङ्गले अघि बढनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले राजनीति स्थिर भएन भने नागरिक र लोकतन्त्रमा असरपर्ने धारणा राखे ।
वर्तमान सरकारलाई आफूहरुले पूर्ण र रचनात्मक सहयोग गर्ने उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वका लागि अपिल गरे । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशको विकास र समृद्धिमा खेलेको भूमिका र प्राप्त उपलब्धिबारे जानकारी गराउँदै कमजोर बन्दै गएको आर्थिक अवस्था उकास्न गठबन्धनको सरकारले भूमिका खेल्ने बताए ।
“वर्तमान सरकारले अर्थतन्त्रलाई तत्काल सही दिशामा अघि बढाउँछ । अर्थतन्त्रको समस्या, स्टे«स र अर्थतन्त्रमाथिको दबाबलाई सम्बोधन गर्न कदम चाल्न सुरु भइसकेको छ,” उनले भए । अध्यक्ष ओलीले आगामी १० वर्षमा समृद्ध नेपाल सुखी नेपालीको माध्यमबाट विकसित मुलुकको सूचीमा स्तरोन्नति गर्ने दाबी गरे ।
यसअघि अध्यक्ष ओलीले गठबन्धनको सरकारको साझा न्यूनतम कार्यक्रमबारे चर्चा गरिरहँदा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा प्रवेश नै नपाएको कार्यक्रमबारे बैठकमा भनाइ राख्न नमिल्ने भनि आपत्ति जनाएका थिए ।
FACEBOOK COMMENTS