काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् ।
आज बिहान साढे १० बजेको फ्लाइटमार्फत ओली काठमाडौंबाट झापा जान लागेका हुन् ।
२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने कार्यसूची रहेकोले ओली झापा जान लागेका हुन् ।
अध्यक्ष ओली यसअघि विजयी हुँदै आएको झापा–५ बाट चुनाव लड्दैछन् । एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारमा झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
झापा–५ बाट रास्वपाबाट बालेन शाह उम्मेदवार बन्ने तय भएको छ भने नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई टिकट दिएको छ ।

प्रचण्ड आजै रुकुमपूर्व जाँदै
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी –नेकपा)का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।

नेकपा रुकुमपूर्वका अनुसार प्रचण्डको स्वागतका लागि तयारी पूरा भएको छ । नेकपा रुकुम पूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्डको कार्यतालिका तय भइसकेको छ ।

‘सोमबार पुग्नुहुनेछ भने मंगलबार तामझामका साथ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ’, उनले भने ।

प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेर बुधबार मात्र काठमाडौँ फर्कने कार्यतालिका रहेको इन्चार्ज वलीले जानकारी दिए । ‘यस क्रममा उनले जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग विशेष राजनीतिक छलफल र परामर्श समेत गर्नुहुनेछ’, उनले भने ।
यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक सुरक्षित स्थान खोज्दै जनयुद्धको आधारभूमि रुकुमपूर्व पुगेका हुन् ।
FACEBOOK COMMENTS