काठमाडौं । कृषि बैंकको नाफामा गिरावट आएको छ । यद्यपि, बैंकका अन्य सूचकहरू भने सुधारोन्मुख दिशामा देखिएका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको नाफा १०.१७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष सुरु भएपछिको नौ महिनामा बैंकले एक अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले नाफा दुई अर्ब पाँच करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी सात अर्ब २० करोड रुपैयाँ रहेकामा यस वर्ष १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब १२ करोड ८६ लाख रुपैयाँबाट बढेर एक अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा भने ४.९८ प्रतिशत छ ।
यस अवधिमा बैंकको सञ्चालन नाफासमेत आठ करोड ६४ लाख रुपैयाँ घटेको छ । योसँगै नौ महिनामा बैंकको सञ्चालन नाफा दुई अर्ब ५९ करोड रुपैयाँमा खुम्चिएको छ, गत वर्षको सोही अवधिमा यस्तो नाफा दुई अर्ब ६७ करोड ४६ लाखरहेको थियो ।
साथै, बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
हाल बैंकको प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँ र प्रतिशेयर खुद मुल्य २१७.७३ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS