काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडक खण्ड तीन दिनभित्र यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
नागढुङ्गा– मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार पार्ने काम भइरहेको छ।
सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी कामलाई तीव्र पारिएको अधिकारीले जानकारी दिइन्। कामको आवश्यकता अनुसार उपकरणको सङ्ख्या घटबढ हुने गरेको र केही दिन अघिसम्म १२ वटासम्म उपकरण परिचालन गरिएको उनले बताइन्।
शनिबार पहरो काट्ने काम सकिएपछि ग्रेड सुधारका लागि दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर प्रयोग भइरहेका छन्। ग्रेड मिलाइसकेपछि रोलर थप गरी रोलिङको काम सुरु गरिने छ।
कामको प्रगतिबारे जानकारी दिँदै अधिकारीले भनिन् ‘कृष्णभीरमा सडक भासिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम भइरहेको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ।’

उपकरण प्रयोग र आगामी योजनाबारे स्पष्ट पार्दै उनले थपिन्, ‘कामका लागि आवश्यकता अनुसार उपकरण परिचालन गरिएको छ। आज दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर प्रयोग भइरहेका छन्। ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ।’