गलकोट– बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकरणको प्रयोगमा जोड दिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वीकृत योजनाअन्तर्गत किसानलाई अनुदानमा थ्रेसर मेसिन प्रदान गरेको हो ।
नगरपालिकाले पाँच सय किसानलाई सेवा दिनेगरी तीनवटा किसान समूह, एउटा सहकारी संस्था र छ किसानलाई गरी १० वटा थ्रेसर मेसिन पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । नगरपालिकाले वडा तहगतरूपमा पायक पर्नेगरी गहुँ, कोदो र धान चुट्ने थ्रेसर मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।
दक्ष जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै गएपछि कृषिमा यान्त्रिकीकरणका बढाउन सुरु गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ । गत वर्ष मिनीटेलर हलो अनुदानमा वितरण गरेको नगरपालिकाले यसपटक थ्रेसर मेसिन हस्तान्तरण गरेको उनले जानकारी दिए।
नगरपालिकाले चालु आर्थिक वर्षमा मेसिन खरिदका लागि तीन लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाले एउटा थ्रेसर मेसिनलाई रु ५८ हजारमा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको हो ।
अनुदानमा थ्रेसर मेसिन पाउँदा सहज भएको किसान सुरेश विकले बताए। पालिकाले कालिमाटी कृषक समूह, ठाडाँस्वारा कृषक समूह, रूम्टा कृषक समूह, पालुवा कृषि सहकारी र छ किसानलाई मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।
FACEBOOK COMMENTS