काठमाडौँ । आर्थिक बर्ष २०८१-८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ ।
वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को वैठकले आर्थिक बर्ष २०८१÷८२ का लागि मार्गदर्शन पारित गरेपछि त्यही मार्गदर्शनका आधारमा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको ‘बजेट तर्जुमा समिति’ले विषयगत समितिसँग छलफल सुरु गरेको हो ।
बैठकमा उपप्रमुख डंगोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्नु पर्ने बताइन् ।
बैठकका निर्णयका बारेमा जानकारी गराउँदै उनले भनिन्, ‘विषयगत समितिहरुको बैठकबाट चालु आर्थिक बर्षको समीक्षा र आगामी वर्षका कार्यक्रमको प्रस्ताव ल्याउने र यसरी आएका विवरणहरुलाई संकलन तथा ढाँचामा राख्न योजना अनुगमन तथा मूल्याङ्क एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको संयोजकत्वमा बजेट तथा अनुगमन महाशाखा प्रमुख विकास चित्रकार र मानव संशाधन विका महाशाखा प्रमुख प्रवीण प्याकुरेल सदस्य हुनुहुन्छ ।’
बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बजेट सीमा र बजेट तथा कार्यक्रम तर्जुमा मार्गदर्शन बारे अवगत गराए ।
काठमाडौँमा भौतिक पूर्वाधारका काम गर्न सकिने समय, योजनाको कार्यान्वयन गर्न आवश्यक प्रक्रियाको चरण र अवस्था, केन्द्र र वडागत रुपमा हुने कार्यक्रमको सम्बन्ध जस्ता पक्षमा ध्यान दिनुपर्नेमा जोड दिए । यस्तै सामाजिक विकास, स्वास्थ्य, शिक्षा, वातावरणीय सुधारजस्ता आधारभूत आवश्यकताका विषयमा उनको जोड थियो ।
योजना तर्जुमा सम्बन्धी काम ‘बजेटको पूर्व तयारी’ हरेक वर्षको मंसिर महिनाबाट सुरु हुन्छ । विषय क्षेत्रसँग सम्बन्धित सूचना संकलन र विश्लेषण गरेर स्थितिपत्र अद्यावधिक गर्ने यसको पहिलो काम हो । यो काम विषयगत विभाग, महाशाखा र शाखाले मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्छ ।
माघ मसान्तभित्र विषयगत क्षेत्र विभाजन गरेर सदस्यलाई जिम्मेवारी दिनुपर्छ । यो जिम्मेवारी कार्यपालिकाले दिनुपर्छ । महानगरपालिकामा विषयगत समिति भएकाले यसको जिम्मेवारी कार्यपालिकाले समितिलाई दिइएको छ ।
फागुनबाट ‘स्रोत अनुमान र कुल बजेट सीमा निर्धारण’ को काम सुरु हुन्छ । संघ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट, रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने, सरोकारवालासँग छलफल गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने, कुल बजेटको अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने, यो मार्गदर्शन विभाग, महाशाखा, शाखा तथा वडालाई उपलब्ध गराउने काम हुन्छ ।
महानगरपालिको यो मार्गदर्शन वैशाख १४ गते परिपत्रमार्फत पठाइसकेको छ । बस्ती र टोलस्तरबाट योजना छनोट तेस्रो चरणमा आउँछ । यो काम वडा समितिबाट वैशाख मसान्तभित्र सम्पन्न गर्नुपर्छ । यसपछि जेठ १० गतेभित्र वडास्तरीय योजनाको प्राथमिकता निर्धारण गर्नुपर्छ ।
पाँचौ चरणमा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ । जेठ १५ गतेबाट सुरु हुने यस चरणमा विषयगत समिति, विभाग, शाखा, महाशाखा र विषय क्षेत्रका आयोजना र कार्यक्रमको प्राथमिकता निर्धारण गर्नुपर्छ । विषयगत समितिमा छलफल, प्राथमिकता निर्धारण र सांकेतीकरण, बजेट (राजस्व, व्यय र बित्तीय व्यवस्था) तथा वार्षिक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने, गैरसरकारी संघसंस्था र विकास साझेदारका कार्यक्रम समावेश गर्ने, आर्थिक विधेयक र विनियोजन विधेयकको मस्यौदा तयार पार्नुपर्छ ।
यसरी तयार पारिएका विधेयकहरु कार्यपालिकाबाट स्वीकृत गराएर असार १० गतेभित्र नगर सभामा पेश गर्नुपर्छ । यसरी पेश गरिएको प्रस्तावलाई असार मसान्तभित्र सभाबाट पारित गराउनु पर्छ ।
FACEBOOK COMMENTS