काठमाडौं । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै सङ्कलन गर्न काठमाडौं महानगरपालिकाले रङ सङ्केतसहितको गाडी तयार पारेको छ ।
फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै सङ्कलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरेको हो ।
वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको बीचबाट २ खण्ड बनाइएको छ । हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बीचमा गरी दुई वटा ढोका छन् । यसमध्ये बीचमा राखिएको ढोकाबाट फोहोर सङ्कलन गरिन्छ ।
बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ । कुहिने फोहोर सङ्कलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर सङ्कलन गरिने कोठातिर नीलो रङ राखिएको छ । श्रेष्ठका अनुसार कुहिने फोहोर सङ्कलन हुने कोठामा करिब १ हजार ५ सय किलो फोहोर सङ्कलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुन सक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ ।
वडा नं. २७ बाट फोहोर वर्गीकरण नमूना कार्यक्रम चलाइने
फोहोर वर्गीकरणको नमूना कार्यक्रम वडा नं. २७ बाट कार्यान्वयन गर्ने तयारी थालिएको छ । यस क्रममा आज सचेतनामूलक र्याली निकालियो । वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका सदस्य तथा पदाधिकारी, कर्मचारी, स्थानीय क्लव तथा टोल सुधार समितिका पदाधिकारीसहितको र्यालीले कमलाछी, असन, तँलाछि, ज्याथा, ठमेल, जमल, ग्वसिँफलगायतका स्थानमा पुगेर घरदैलो कार्यक्रम गरिएको थियो । त्यस क्रममा भेटिएका स्थानीयले महानगरपालिकाको कार्यक्रमको प्रशंसा गर्दै आफूहरूले छुट्याएर मात्र फोहोर बाहिर निकाल्ने दायित्व पूरा गर्ने बताए ।
यो वडाको जनसंख्या ५ हजार हो । यहाँ १ हजार ४ सय घरधुरी छन् । आवासीय र व्यापारिक क्षेत्र भएकोले कुहिने र नकुहिने दुबै प्रकारको फोहोर उत्पादन हुन्छ ।
फोहोर वर्गीकरणका विषयमा वडाध्यक्ष योगेश खड्गी भन्छन्, ‘घरघरमा पुगेर फोहोर छुट्याउने विधि सिकाउँछौँ । फोहोर सङ्कलन गर्न जाने कर्मचारीलाई छुट्टिएको फोहोर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । वडाबासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । सहभागिताका लागि उहाँहरू इच्छुक हुनुहुन्छ । यी सबै कारणले कार्यक्रम सफल हुन्छ ।’
आउँदो एक हप्ता वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छुट्याइएको फोहोरको नमूना सङ्कलन गर्ने अभ्यास गरिनेछ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइनेछ । यो वडाको कार्यक्रम सफल बनाएर वडा नं. १२, ५, ६ लगायत वडामा विस्तार गर्दै लगिने विभागले योजना बनाएको छ ।
के हो, फोहोर वर्गीकरण
भान्छामा कुहिने र नकुहिने गरी दुई खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाडाँमा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ । तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् ।
यस्तै प्लाष्टिक, शिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरू, फलाम आदि नकुहिने फोहोर हुन् । यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रूपमा सङ्कलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।
विभागले हरेक घर दैलोमा पुगेर फोहोर सङ्कलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरणको प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, सङ्कलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्याङ्कनको योजना बनाइरहेको छ ।
काठमाडौं महानगरभित्र सञ्चालित कवाडी व्यवसाय ३५ दिनभित्र हटाउन बालेनको उर्दी
FACEBOOK COMMENTS