काम कहिले पनि सानो ठूलो हुँदैन । मेहनत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सर्लाहीको लालबन्दी नगरपालिका–२, निवासी ४६ वर्षीय मिथलेश सहनी । सहनीले कुल्फी बेचेर मनग्य आम्दानी गरिरहेका सहनीले पाँचजनाको परिवारको आनन्दसँग पालनपोषण गरिरहेका छन् । उनका एक छोरा केही समयदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका छन् ।
उनले दुई छोरा घर नजिकैको विद्यालयमा पढाएका छन् । सहनी आफू भने दैनिक ६० किलोमिटरसम्म साइकलमा डुलेर कुल्फी बेच्छन् । फागुन महिनाको पहिलो हप्तादेखि सुरु हुने उनको कुल्फीको व्यापार मङ्सिर महिनासम्म चल्छ । चर्को घाम, पुरानो साइकल केरियरमा बाँधेको कुल्फीको ड्रम गाउँ गाउँसम्म पुग्ने निरन्तरको यात्रा उनको दैनिकी हो ।
“अत्यधिक गर्मी वा बर्सातको समयमा कुल्फी उत्तिसारो बिक्दैन्”, उनले भने, “मानिसहरु घरबाट बाहिर निस्किदैनन्, मौसम ठिक्क भएमात्र व्यापार राम्रो हुन्छ ।” उनी भन्छन् ।
झन्डै १५ वर्ष पहिला उनले यसैगरी अन्न ९मकै० सँग बरफ साट्ने काम गरेका थिए । आम्दानी राम्रो नभएपछि लगभग तीन वर्ष काम गरेर छाडे । विगत तीन वर्षबाट फेरि उहाँले कुल्फी बेच्न सुरु गरेका हुन् । उनी हरेक दिन बिहान नजिकैको उद्योगबाट बरफको डल्ला किनेर ल्याउँछन्। त्यसपछि उनी कुल्फी बट्टाबट्टामा राखेर नुहाइधुवाइ गर्छन् ।
त्यसबेलासम्ममा कुल्फी जमेर तयार भइसक्छ । खाना खाइसकेपछि बिहान १० बजेदेखि उहाँको व्यापार सुरु हुन्छ । सहनी घरबाट विभिन्न गाउँ हुँदै सर्लाही र रौतहटको सीमाक्षेत्र नुनथर, बागमती नगरपालिकास्थित भरत तालसम्म पुग्छन् । साँझ घाम डुबेपछि भने उनी सिधँै घर हानिन्छन् । “घाम डुबेपछि गाउँ पस्दिन”, उनले भने, “जति व्यापार भए पनि सिधैँ घर पुग्छु ।”
दिनको कम्तीमा पाँच हजार रुपैयाँको सामान ड्रममा राखेर व्यापारका लागि निस्कने गरेको उनको भनाइ छ । “कुनै दिन अपराह्न २ बजे नै सबै बेचेर भ्याउछु”, उनले भने, “कहिले फिर्ता पनि लानुपर्छ, ३६ घण्टासम्म बिग्रिँदैन् ।” पूरै बिक्री गर्दा दुई हजार पाँच सय रुपैयाँ फाइदा हुने उनको भनाइ छ । कुल्फी १० देखि ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ ।
कुल्फी बेचेर महिनाको एक लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए । केही भएन भने पनि मेहनत गर्न सक्दा उनका अनुसार कडा मेहनत पर्ने भएकाले यो पेसा सबैले मन पराउँदैनन् । “मेहनत कडा छ”, उनले भने, “दैनिक हिँड्न सक्नुपर्यो, भारीसहितको साइकल ५०्६० किलोमिटर ठेल्नुपर्छ ।”
कुल्फीका लागि आवश्यक सामग्री ल्याएर आफैले घरमै कुल्फी बनाउँदा फाइदा धेरै हुने गरेको उनको अनुभव छ । बरफबाहेक सबै कुरा आफैँ बनाउने उनले सुनाए । आर्थिक उपार्जनको दिगो व्यवस्था नहुँदा विगतमा निकै हण्डर खाएको सम्झदै सहनीले कुल्फीको व्यापारपछि पछाडि फर्किएर हेर्नुनपरेको सुनाए ।
कुल्फी व्यापारपछि सहनीले पाँच कट्ठा धान फल्ने खेतसमेत किनेको बताए । वर्षदिन पुग्न धान आफ्नै खेतमा फल्ने गरेको उनको भनाइ छ । धेरैजसो गर्मीको मौसम रहने तराईको ठाउँमा बरफ, कुल्फी लगायतको बिक्री निकै राम्रो हुने गरेको छ । यसको व्यापारबाट धेरै स्थानीय स्वरोजगार समेत बनेर मनग्य आम्दानी समेत गरिरहेका छन् । रासस
FACEBOOK COMMENTS