काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारकाे गम्भीर आरोप लगाएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि व्यापक भ्रष्टाचार भएको आरोप लगाएका हुन् ।
उजुरीकर्ताकाे दाबी भन्दै उनले धुलिखेलमा कुलमानको २५ रोपनी जमिन रहेको र त्यो चिलिमे हाइड्रोपावर कम्पनीमा रहँदा भ्रष्टाचार गरेको पैसाले किनेको, लामा कन्ट्रक्सनमा उनकाे एक अर्ब ५० करोड रुपैयाँको शेयर रहेको बताएका छन् ।
त्यस्तै, कार्यकारी निर्देशक नियुक्त भएको एक महिना पनि नबित्दै २०७३ भदौमा कुलमानका दाजुभाइ गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुशेर घिसिङको नाममा तेण्डल हार्डवेयर प्रालि नामको कम्पनी स्थापना भएको नेता बस्नेतले बताए ।
त्यसबेला तेण्डल हार्डवेर कम्पनीको पुँजी ३ करोड देखाइएको र यो कम्पनीले अहिले वार्षिक ६० करोडको हाराहारीको कारोबार गर्ने गरेको उनको भनाइ छ । कुलमानकै पैसामा कम्पनी खडा गरिएको र उनको पहुँचका आधारमा कारोबार हुने प्राधिकरणका कर्मचारीहरूको दाबी रहेको बस्नेतले उल्लेख गरेका छन् ।
उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले उचित छानबिन गर्नुपर्ने माग गरेका छन् ।
हेर्नुस् नेता महेश बस्नेतकाे फेसबुक स्ट्याटस
FACEBOOK COMMENTS