रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज रामेछाप जिल्लाका विभिन्न गाउँबस्तीमा स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, समाजसेवी, अग्रज व्यक्तित्व तथा सर्वसाधारणसँग भेटघाट एवं अन्तरक्रिया गरेका छन् ।
बिहानैदेखि आफ्नो जन्मथलो आसपासका तीन स्थानमा स्थानीयवासीसँग भेटघाट गर्दै उनले गाउँको विकास, स्थानीय आवश्यकता, जनसरोकारका विषय तथा उज्यालो नेपाल पार्टीको नीति, उद्देश्य र भावी कार्यक्रमबारे छलफल गरे । सो क्रममा पार्टीप्रति स्थानीयवासीको चासो, सहभागिता र आबद्धताका विषयमा समेत विचार आदानप्रदान भएको थियो।
विभिन्न स्थानमा भेटघाट सम्पन्न गरी ठोसे पुग्नुभएका अध्यक्ष घिसिङलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका थिए। ठोसेमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले जलविद्युत् विकास, विद्युत् आपूर्ति, सडक पूर्वाधार, स्थानीय लगानी तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न जिज्ञासा र मागहरू प्रस्तुत गरेका थिए।
ठोसे–खिम्ती जलाशययुक्त आयोजना कार्यान्वयनमा प्रतिबद्धता
कार्यक्रममा स्थानीयवासीले प्रस्तावित करिब १,७०० मेगावाट क्षमताको ठोसे–खिम्ती–शिवालय जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण तथा कार्यान्वयनका विषयमा जिज्ञासा राखेका थिए।

अध्यक्ष घिसिङले उक्त आयोजना नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, जलविद्युत् विकास तथा स्थानीय आर्थिक समृद्धिका दृष्टिले महत्त्वपूर्ण रहेको बताए । आयोजनाको प्रारम्भिक पहल आफूले नै गरेको उल्लेख गर्दै उनले यसको निर्माण अघि बढाउन उज्यालो नेपाल पार्टी पूर्ण प्रतिबद्धताका साथ लाग्ने स्पष्ट पारे ।

उनले जलाशययुक्त आयोजनाहरूले मुलुकको विद्युत् प्रणालीलाई भरपर्दो बनाउन, ऊर्जा आत्मनिर्भरता हासिल गर्न तथा औद्योगिक विकासको आधार निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।

खिम्ती जलविद्युत् आयोजनाको १० प्रतिशत सेयर स्थानीयलाई उपलब्ध गराउन पहल र समन्वय गर्ने प्रतिबद्धता

अन्तरक्रियाका क्रममा स्थानीयवासीले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुने सन्दर्भमा उक्त आयोजनाको १० प्रतिशत सेयर रामेछाप र दोलखा जिल्लाका स्थानीयवासीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन अध्यक्ष घिसिङसमक्ष माग गरेका थिए।
स्थानीयवासीको मागलाई सकारात्मक रूपमा लिँदै अध्यक्ष घिसिङले जलविद्युत् आयोजनाबाट प्रभावित तथा आयोजना रहेको क्षेत्रका नागरिकले त्यसको प्रत्यक्ष आर्थिक लाभ पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले खिम्ती जलविद्युत् आयोजनाको १० प्रतिशत सेयर रामेछाप र दोलखाका स्थानीयवासीलाई उपलब्ध गराउन नेपाल सरकार तथा सम्बन्धित जलविद्युत् आयोजना व्यवस्थापनसँग आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्युत् महसुलमा लगाइएको भ्याट हटाउन र बक्यौता महसुल असुल गर्न माग
आज ठोसेमा सम्पन्न कार्यक्रममा उज्यालो नेपाल पार्टीले यसअघि नै सुरु गरेको विद्युत् महसुलमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन तथा डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापतको बक्यौता विद्युत् महसुल असुल गर्न माग गर्दै सञ्चालन गरेको हस्ताक्षर अभियानलाई निरन्तरता दिइएको थियो।
उक्त हस्ताक्षर अभियानमा करिब ४० देखि ५० जना स्थानीयवासीले हस्ताक्षर गरी मागप्रति आफ्नो समर्थन र सहमति जनाएका थिए।
अध्यक्ष घिसिङले विद्युत् आमनागरिकको आधारभूत आवश्यकता भएकाले विद्युत् महसुलमा लगाइएको भ्याट हटाई उपभोक्तालाई राहत दिनुपर्ने माग राख्नुभयो। साथै डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योग तथा प्रतिष्ठानबाट कानुनबमोजिम असुल गर्नुपर्ने बक्यौता महसुल उठाउनुपर्ने धारणा व्यक्त गरे ।
उज्यालो नेपाल पार्टीले यी दुवै मागलाई अघि सार्दै सुरु गरेको हस्ताक्षर अभियानलाई आगामी दिनमा देशभरका प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्ने जनाएको छ।
सडक पूर्वाधार, विद्युत् आपूर्ति र स्थानीय विकासमा जोड
अन्तरक्रियामा लिखु नदी क्षेत्रमा निर्माणाधीन तथा सञ्चालित जलविद्युत् आयोजनाहरूले स्थानीय सडक पूर्वाधार विकासमा गर्नुपर्ने लगानी, प्रभावित समुदायका माग, विद्युत् आपूर्ति तथा अन्य विकास निर्माणका विषयमा पनि स्थानीयवासीले ध्यानाकर्षण गराएका थिए।
अध्यक्ष घिसिङले जलविद्युत् आयोजना निर्माणसँगै स्थानीय सडक, यातायात, रोजगारी र आर्थिक गतिविधिको विकास हुनुपर्नेमा जोड दिए ।
उहाँले निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूसँग आवश्यक समन्वय र सहकार्य गरी स्थानीयवासीका जायज माग सम्बोधन गर्न, सडक पूर्वाधार सुधार गर्न तथा विद्युत्सम्बन्धी समस्याहरू समाधान गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले अघि सारेको हरित क्रान्तिको अवधारणाअनुसार स्वदेशी ऊर्जा, स्थानीय स्रोतसाधन, उत्पादन, उद्यमशीलता र पूर्वाधार विकासलाई एकीकृत गर्दै आर्थिक रूपान्तरण र समृद्धिको आधार तयार गर्नुपर्ने धारणा समेत राखे ।