काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन जीका प्रतिनिधि भनिने सुदन गुरुङलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् ।
एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जेन जीका नाममा अवरोध भएपछि नेता बस्नेतले यस्तो माग गरेका हुन् । उनले उनीहरूले जेन जी समूहलाई अराजक र उत्तेजक बनाएर आफूहरूको कार्यक्रममा बाधा पुर्याउन षड्यन्त्र गरेको भन्दै पक्राउ गरेर छानबिन गरिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले लेखेका छन्–
एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेन जीको नाममा प्लेकार्ड देखाउने युवाहरूप्रति कुनै आपत्ति थिएन ।
तर, कार्यक्रमस्थलतर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खाली गरेपछि तिनीहरू हटेका छन् । प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ । उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन ।

जेन जी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेन जीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्याउन षड्यन्त्र गर्ने बालेन, कुलमान घिसिङ, सुदन गुरुङ हुन् । यिनलाई पक्राउ गरेर छानबिन गर्नैपर्छ ।

FACEBOOK COMMENTS