काठमाडौं । जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्नुपर्ने माग उठ्न थालेको छ । भारतबाट विद्युत आयात गर्न ४३ करोड रुपैयाँ बराबरको नोक्सान हुने गरी बदनियतपूर्वक सम्झौता गरेको भन्दै जेन जीकै एक समूहले उनलाई पदबाट हटाउन माग गरेको छ ।
ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी पीटीसीसँग उसले माग गरेको भन्दा बढी दरमा विद्युत खरिद गर्ने सम्झौता गरेका छन् ।
जेन जी मुभमेन्ट नेपालले सम्झौतामा संलग्न मन्त्री घिसिङलाई बर्खास्त र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई निलम्बन गरी कारबाहीको दायरामा ल्याउन समेत माग गरेको छ ।
मुभमेन्टका प्रवक्ता विजय साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’
यस्तै, कुलमानले आफ्नो अगुवाइमा उज्यालो नेपाल पार्टी पनि गठन गरेका छन् । आज निर्वाचन आयोगमा दर्ताका लागि पार्टीले निवेदन दिँदैछ । यसबाट पनि कुलमानलाई मन्त्री पदबाट हटाइने सम्भावना औंल्याइँदै छ ।

जेन जी मुभमेन्टको प्रेस वक्तव्य–



FACEBOOK COMMENTS