वि.स. २०२० साल माघ १० गते सोलुखुम्बुको देउसामा जन्मिएका कुमारबहादुर खत्री निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत
(सीईओ) हुन् । सोलुखुम्बुमा जन्मिए पनि खत्रीको बाल्यकाल मोरङमा बित्यो ।
२०२८ सालमा उनको परिवार सोलुबाट बसाईसराई गरेर मोरङको गोविन्दपुर गएपछि मात्रै उनको प्राथमिक शिक्षा आरम्भ भयो । २०३० सालमा करिब १० वर्षको उमेरदेखि पढाई शुरू गरेका खत्रीले ९ वर्षको अवधिमै २०३९ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे ।
मोरङको सिजुवास्थित सौंठा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले धरानको महेन्द्र बुहुमुखी क्याम्पस, विराटनगरको महेन्द्रमोरङ क्याम्पस हुँदै वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसबाट वाणिज्य शंकायमा प्रवीणता प्रमाणपत्र तह (आईकम) उत्तीर्ण गरे भने काठमाडौंको मिनभवस्थित नेपाल कमर्श क्याम्पसबाट २०४९ सालमा एमबीएको अध्ययन पूरा गरे ।
मध्यमवर्गीय परिवारमा जन्मिएका खत्री पढाईमा निक्कै अब्बल थिए । बाल्यकालमा धेरै नबोल्ने स्वाभाव भएका उनी अहिले पनि उस्तै स्वाभावमा भेटिन्छन् । वीरगञ्जमा बसेर प्रमाणपत्र तहको अध्ययन गर्दैगर्दा उनले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नारायणी अञ्चल खेलकुद विकास समितिमा रहेर काम गर्ने अवसर प्राप्त गरे । त्यसैबेलादेखि उनले सेवाको क्षेत्रलाई पनि निरन्तरता दिँदै आए ।
२०४१ सालदेखि ०४७ सालसम्म नारायणी अञ्चल खेलकुद विकास समितिमा हरेर काम गरेका खत्रीले आफ्नो अध्ययनका लागि काठमाडौं आउने क्रममा पनि सरुवा मिलाएर आए र ०४९ सालसम्म परिषद्अन्तर्गत नै रहेरका काम गरे । तर, २०४९ सालमै परिषद्का पुनःसंरचना गर्ने भन्दै करिब ५०० जनाको दरवन्दी खारेजीमा प¥यो । त्यसबेला खत्रीले अवकाश पाए ।
त्यसपछि २०५१ साल फागुनदेखि नेपाल इन्स्योरेन्स कम्पनीमा विकास अधिकृत पदबाट इन्स्योरेन्स क्षेत्रमा सेवा शुरू गरे । लिखित र अन्तर्वार्ता उत्तीर्ण गरेर नेपाल इन्स्योरेन्समा सेवा प्रवेश गरेका उनले एउटै पदमा करिब १० वर्ष बिताए ।
त्यसपछि आफ्नो करियरलाई थप मजबुत बनाउने उद्देश्यसहित उनले तत्कालीन एनबी (हाल ः आईएमई जनरल) इन्स्योरेन्स कम्पनीमा करिब २ वर्ष काम गरे । त्यसपछि २०६२ सालमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शुरूवातबाटै मार्केटिङ म्यानेजरका रूपमा सेवा शुरू गरेका उनले त्यहाँ १३ वर्ष बिताए । त्यसबेला उनी उक्त कम्पनीमा डीजीएमको भूमिकामा पुगेका थिए ।
यसरी निर्जीवन बीमा कम्पनीमा दुई दशक बढी समय बिताएर भरपुर अनुभव हासिल गरेका कुमारबहादुर खत्री अहिले अजोड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । उनी यो संस्था सञ्चालनमा आएदेखि नै उक्त जिम्मेवारीमा छन् ।
पछिल्लो केही वर्षयता सञ्चालनमा आएका आधा दर्जन भन्दा बढी इन्स्योरेन्स कम्पनीहरूको भीडमा आफ्नो विशेष पहिचान बनाएर दौडिरहेको अजोड इन्स्योरेन्सले स्वाभाविक रूपमा विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । त्यसमाथि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले प्रभावित बनाइरहेको बेलामा पनि अनुकरणीय नेतृत्व प्रदान गरिरहेका सीईओ खत्री विभिन्न कम्पनीमा काम गर्दाको अनुभव र शीप लागू गर्दा कम्पनीले राम्रो पर्फमेन्स गरिरहेको बताउँछन् ।
विभिन्न चुनौतीका बाबजुद पनि कम्पनीले सोचेभन्दा राम्रो प्रगति हासिल गरेको उनी बताउँछन् । २०७४ सालमा स्थापना भएको कम्पनीले पहिलो आर्थिक वर्षमा नै ४१ करोड ५० लाख भन्दा बढी प्रिमियम संकलन गरेको उनी बताउँछन् । त्यसपछि हरेक वर्ष प्रिमियम संकलनको दर बढिरहेको र विश्वव्यापी महामारीका बेलामा पनि तुलनात्मक रूपमा प्रिमियम कलेक्सन बढिरहेको उनको भनाइ छ ।
उनले प्रस्तुत गरेको तथ्याङ्क आफ्नो योजनाभन्दा माथि रहेको दाबी उनको छ । यसबाट उनको नेतृत्वलाई समेत सफल मान्न सकिन्छ । आफ्नो योजना र कम्पनी सफल हुनुमा संस्थापकहरूको राम्रो पृष्ठभूमी, सञ्चालकहरूको पूर्ण सहयोग, अनुभवी व्यवस्थापन समूह र लगनशील कर्मचारी मुख्य कारक बनेको उनी बताउँछन् ।
बीमासम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरूमा सहभागी भएका खत्री नेपालको निर्जीवन बीमा क्षेत्रमा राम्रो बजार भए पनि कम्पनीहरू सही ढङ्गले बजारमा पुग्न नसकेको बताउँछन् । यद्यपि, बीमा बजारमा जे–जति भइरहेको छ त्यो राम्रै भइरहेको बताउने सीईओ खत्रीले बीमा बजारलाई विस्तार गर्ने प्रशस्त ठाउँ रहेको देखेका छन् । तल्लो तहका र पहुँच नपुगेकाहरूका बीचमा सेवा पु¥याउने हो भने राम्रो बीमा बजार रहेको उनको ठम्याई छ ।
सरकारले मोटर बीमालाई झैं स्वास्थ्य, घर, कृषि तथा पशु, सम्पत्ति र भौतिक पूर्वाधारहरूको बीमालाई पनि अनिवार्य गरिदिने हो भने नेपालीको बीमा बजारले ठूलो फड्को मार्नसक्ने उनको बुझाइ छ । यसरी बीमा गर्न सकिएको खण्डमा विगतमाजस्तो भइपरी आउने साना तथा ठूला प्राकृति विपत्तिहरूको व्यवस्थापन गर्न राज्यलाइ नै सहज हुने उनी बताउँछन् ।
हरेक वस्तुको बीमा गरिसकेपछि बीमितलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति प्रदान गर्ने हुँदा राज्यलाई हरेक प्राकृतिक विपत्तिमा तत्काल राहतबाहेक अन्य काममा अलमलिनुपर्ने अवस्था नहुने उनको भनाइ छ ।
FACEBOOK COMMENTS