काठमाडौं । कुमारी बैंकले आफ्नो नवीनतम डिजिटल उपकरण रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ ।
ग्लोबल मनी वीकको १२औँ संस्करणको अवसरमा बैंकले यो सेवा सुचारु गर्न लागेको हो ।
ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरूको पहिचान र सो समाधानका उपायहरू सिकाउने गर्दछ भने कुमारी बैंक पनि यस अभियानमा जोडिएको छ ।
प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट वचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने वचत, सो वचतबाट आउन सक्ने प्रतिफल र समग्र वचत वृद्धिका सम्भावनाहरू अनुमान गर्न सक्दछन ।
बैंकले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने, बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरू जस्तै इएमआई क्याल्कुलेटरहरू पनि उपलब्ध भएको बताएको छ । रिकरिङ्ग निक्षेप क्याल्कुलेटर नि:शुल्क प्रयोग गर्न तत्कालका लागि कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिटै उपलब्ध हुने बैंकले जनाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ वटा शाखा सञ्जाल, ३१४ वटा एटीएम, ६५ शाखारहित बैंकिङ्ग ईकाई तथा ५१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS