काठमाडौं । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ कुमारी बैंकले सञ्चालन गरेको ‘ग्लोबल मनी विक २०२४’अन्तर्गतको वित्तीय साक्षरता कार्यक्रममा देशभरबाट करिब साढे पाँच हजार जनाले सहभागिता जनाएका छन् ।
वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतिका शिकार हुन पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरूमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृद्धि प्रवर्द्धनमार्फत कुसल वित्तीय व्यवहार विकासलाई प्रमुख लक्ष्यका रूपमा लिँदै बैंकले विभिन्न गतिविधिहरू सञ्चालन गरेको थियो ।
त्यस अनुसार वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरता तथा आचरण प्रवर्द्धनका लागि कर्मचारीहरूको प्रतिवद्धता कार्यक्रम सञ्चालन, देशैभरि वित्तीय साक्षरताका आधारस्तम्भहरूको प्रशिक्षण सञ्चालन, वित्तीय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरूलाई सपथ कार्यक्रम सञ्चालन, बैंकको सामाजिक सञ्जालमार्फत वित्तीय साक्षरतासम्बन्धी क्विज तथा जनचेतना विकासका सामग्री प्रसारण र देशैभरि वर्षैभरि वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरूको अभिनयसहितको भिडीयो श्रृङ्खला तथा सामाजिक विषयवस्तुलाई झल्काउने प्रसङ्ग समेटिएको पुस्तक सार्वजनिकलगायत गतिविधि गरेको बैंकले जनाएको छ ।
सबैका लागि सधैंका लागि आधुनिक बैंकिङ सेवा प्रवाहमा अनवरत आफूलाई अग्रपङ्क्तिमा उभ्याउन सफल कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभर देशैभर रहेका आफ्ना शाखा कार्यलयहरूबाट १२३ वटा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । जसमा ५४ सय भन्दा बढी विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरूले सहभागिता जनाएका थिए । कुमारी बैंकद्धारा अभियान अवधिभरमा कार्यान्वयनमा ल्याइएका सामग्रीहरू तथा सञ्चालन गरिएका विषयकेन्द्रित क्रियाकलापहरूले ग्लोबल मनी विकको १२औं संस्करणलाई जीवन्तता प्रदान गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ वटा शाखा सञ्जाल, ३१४ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर तथा ६५ वटा शाखारहित बैंकिङ ईकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिवद्धता बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS