काठमाडौँ । वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जाने तयारीमा रहेका मौसमी श्रमिकको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) प्रणालीमा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी गरेको छ ।
विभागका अनुसार कोरियाका स्थानीय पालिकाले माग गर्ने नेपाली मौसमी श्रमिकको छनोट नेपालको स्थानीय पालिकाले गर्ने र मौसमी श्रमिक पठाउने कार्यविधि, २०७९ अनुसार अनुमति दिइने भएको हो ।
विभागका महानिर्देशक उमाकान्त आचार्यले कोरियाको ‘सिजनल वर्किङ भिसा’का लागि दुई सरकारका स्थानीय तहबीच सम्झौता भइसकेको र सङ्घीय सरकारअन्तर्गतको विभागले वैधानिक भएको भनेर अनुमति दिएर पठाउने बताए । “कोरिया जाने मौसमी श्रमिकको माग र छनोट दुवै देशका स्थानीय तहको समझदारीमा गरिनेछ,” उनले भने ।
विभागका अनुसार कोरियाको मौसमी भिसामा श्रमिक पठाउन नेपालका स्थानीय पालिकाले धेरै युवा छनोट गरेको पाइएको छ । नेपालको संविधानमा दुई देशबीचको सम्झौता सङ्घीय सरकारले गर्ने उल्लेख रहेको छ । यही कानुनी अड्चनलाई फुकाउन सङ्घीय सरकारले अन्तिम अनुमति दिन विभागमा दर्ता गराउने गरी तयारी भएको छ ।
विभागले फेमिसमा छनोट भएका श्रमिकलाई सूचीकृत गर्ने योजना बनाएको छ । फेमिसमा जोडिएपछि विभागले कोरिया जाने सिजनल भिसाको अन्तिम श्रम स्वीकृति दिनेछ । यसअघि कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी श्रमिक लैजाने जनाएको थियो । कोरियाको कानुन तथा न्याय मन्त्रालयले मौसमी श्रमिक लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान तयारी गर्दै आएको छ ।
कोरियाले यस वर्ष नेपालसहित थाइल्यान्ड, कम्बोडिया, भियतनामबाट यस्ता श्रमिक लैजाने भएको जनाएको छ । कोरियाको कानुन तथा न्याय मन्त्रालयले सन् २०२१ डिसेम्बर १४ मा प्रकाशित गरेको सूचनाअनुसार कोरियामा कृषि तथा माछापालन क्षेत्रमा खेप्दै आएको श्रमिक अभावलाई कम गर्न मौसमी प्रणालीमा आधारित मौसमी श्रमिक माग गर्न यस वर्षको जनवरीदेखि नयाँ नियम लागू गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS