काठमाडौं । पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले बढेको छ ।
वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएको हो ।
विभागका अनुसार गत आवभन्दा चालु आवमा पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजार दुई सय ३२ जनाले वृद्धि भएको छ । यसैगरी गत आवको तुलनामा एक सय ७५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ ।
गत कात्तिकदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख उपलब्ध गराउने व्यवस्थासहित काम भइरहेको विभागले जानकारी दिएको छ ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले आगामी केही समयभित्रमा जाहेरी दरखास्त बाहेकका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने लक्ष्य लिएको बताए ।
“बिचौलियाका कारण पीडितहरु अझै मर्कामा परेका थिए, अहिले हेर्नुभयो भने यहाँ बिचौलिया नै देखिन छाडेका छन्”, उनले भने, “अधिकांश सेवाहरु अनलाइनबाट सुचारु भएपछि सेवाग्राहीको गुनासो छिटो र सरल रुपमा समाधान हुनेछ र हाम्रो सेवालाई प्रभावकारी बनाउन लागिरहेका र्छौ ।”
उनका अनुसार मन्त्रालयअन्तर्गत सूचना प्रणालीलाई एकीकृत गर्न लागिएको छ । उनले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारको हवाई टिकटमा प्रतिव्यक्ति ७३ हजारले जोगिएको बताए ।
FACEBOOK COMMENTS