काठमाडौं । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालले सरकारको नीति तथा कार्यक्रममा ‘लघु उद्यम विकास कार्यक्रम’ कायम राख्नुपर्ने माग गरेको छ ।
महासङ्घले पत्रकार सम्मेलन गरी सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको ‘लघु उद्यम विकास कार्यक्रम’ नहटाउन माग गर्दै सरकारको ध्यानाकार्षण गराएको हो ।
अहिलेको बेरोजगारीको समस्या व्याप्त भइरहेको आवस्थामा लघु उद्यम विकास कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै त्यसलाई हटाउन नहुने महासङ्घको भनाइ छ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालकी अध्यक्ष देवकी घिमिरेले सरकारले लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
आर्थिक मन्दीको आधार देखाएर राज्यले विभिन्न क्षेत्रको अनुदान कटौती गरिरहको अवस्थामा लघु उद्यमसँग सम्बन्धित कार्यक्रम नहटाउनका लागि आफूहरुले खबरदारी गरेको उनको भनाइ छ । लघु उद्यम विशेषज्ञ राजन केसीले अहिले देशमा रहेको विभिन्न समस्यामध्ये बेरोजगार समस्या मुख्य भएको बताउँदै उनले स्थानीयस्तरका स्रोत र साधनलाई परिचालन गरेर विपन्न वर्गलाई पनि उद्यमी बनाउनका लागि उक्त कार्यक्रम प्रभावकारी रहेको दाबी गरे ।
विपन्न वर्गको आर्थिक अवस्था उकास्नका लागि लघु उद्यम कार्यक्रममार्फत राज्यले उद्यमीलाई सामाजिक परिचालन, उद्यमशीलता, लगानीमा पहुँच, बजारीकरण, प्रविधि र सल्लाह दिन आवश्यक रहेको उनको भनाइ छ । राष्ट्रिय उद्यमिता सहजकर्ता महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष प्रेमराज जोशीले लघु उद्यम विकास कार्यक्रमले देशबाट गरिबी निवारण, वैदेशिक पलायनबाट रोक र देशको आर्थिक विकासको मेरुदण्डको रुपमा काम गरिरहेको बताए ।
FACEBOOK COMMENTS