काठमाडौं । लघुवित्त वित्तीय संस्थाले ऋणमा लागू गर्ने ब्याजदर प्रणाली निर्धारण गर्दा स्थिर र परिवर्तनशील दुवै दर अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने भएको छ ।
केन्द्रिय बैंकले बिहीबार लघुवित्तका लागि संशोधित एकीकृत निर्देशन जारी गर्दै ब्याजदर निर्धारण गर्दा स्थिर र परिवर्तनशील दुवै दर अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार लघुवित्तले ऋण प्रदान गर्र्ने समयमा ग्राहकले स्थिर ब्याजदर वा परिवर्तनशील ब्याजदरमध्ये आफूले चाहेको दर रोज्न सक्नेछन् ।
ग्राहकलाई ऋण शर्तबारे कुनै अन्योल नहाेस् भन्नकालागी लघुवित्त वित्तीय संस्थाले कर्जा सम्झौतामा नै यो निर्णय स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
परिवर्तनशील ब्याजदरमा कर्जा दिँदा प्रस्तावपत्रमा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधि भर परिवर्तन गर्न नपाइने व्यवस्था छ ।
स्थिर ब्याजदर भने ऋण अवधिभरका लागि पहिले नै तोकिनेछ र त्यसमा कुनै हेरफेर गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ । यसरी कुनै पनि ब्याजदर प्रणाली छनोट गर्दा ग्राहकलाई ऋणसम्बन्धी सम्पूर्ण शर्तहरू बुझ्न सजिलो हुनेगरी जानकारी दिनुपर्नेछ ।
लघुवित्तहरूले अब आफ्ना मासिक आधार दर तयार पारेर महिनाको अन्त्यपछिको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ भने सोही दर आफ्नो आधिकारिक वेबसाइटमा समेत सार्वजनिक गर्नुपर्नेछ । आगामी त्रैमासमा लागु हुने ब्याजदर शाखा र वेबसाइटमार्फत त्रैमास सुरु हुनुभन्दा पहिलेनै सार्वजनिक गरिनुपर्ने छ । साथै, ब्याजदर प्रकाशन गर्दा हरेक कर्जा शीर्षकअनुसार आधार दरमा थप गरिने प्रिमियम दर छुट्टै उल्लेख गर्नुपर्नेछ र ग्राहकलाई यसबारे जानकारी लोन कार्ड, पासबुक, एसएमएस वा समूह बैठकमार्फत दिनुपर्नेछ ।
राष्ट्र बैंकले पेनाल ब्याजदरमा समेत कडाइ गरेको छ। अबदेखि वार्षिक पेनाल ब्याजदर २ प्रतिशतभन्दा बढी राख्न पाइने छैन। साथै किस्ता समयमा नतिरेर लाग्ने पेनाल्टी मूलधनमा मात्र लाग्नेछ र त्यसमा पुनः ब्याज गणना गर्न पाइने छैन ।
नयाँ निर्देशनअनुसार ब्याजदरसम्बन्धी सबै प्रक्रिया पारदर्शी बनाएर ग्राहकलाई स्पष्ट जानकारी उपलब्ध गराउनु पर्ने भएपछि लघुवित्त ऋण कारोबार अझ थप जिम्मेवारीसहित सञ्चालन हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS