काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड २१ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म १ करोड २ लाखभन्दा बढी खुद नाफामा रहेको यो कम्पनी यस वर्ष भने सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याउनु परेकाले नोक्सानीमा गएको हो ।
गत वर्षको तुलनामा कम्पनीले यस वर्ष खराब कर्जा संकलन बढाएको छ । गत वर्ष ७० हजार मात्र खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष ९ करोड ४५ लाखभन्दा बढी खराब कर्जा उठाएको छ । तर कम्पनीको सम्भावित जोखिम शिर्षकमा गत वर्ष १ करोड ७८ लाखभन्दा बढी रहेकोमा यस वर्ष ९ करोड २१ लाखभन्दा बढी रकम छुट्याएको छ । जसका कारण कम्पनी १२ करोड ४२ लाखभन्दा बढी सञ्चालन घाटामा गएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनी १ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफामा रहेको थियो । गत साउनमा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी २५ करोड कायम भएको छ । कम्पनीको जगेडा कोष रकम भने गत वर्ष ८ लाखभन्दा बढी रहेकोमा यस वर्ष बढेर रू। २ करोड १९ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीले यस वर्ष गत वर्षभन्दा करिब ५६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने करिब १५ प्रतिशत कर्जा सापटी लिएको छ । कम्पनीले यस वर्ष १ अर्ब ४९ करोडभन्दा बढी कर्जा सापटी लिएको हो भने २६ करोड ३३ लाखभन्दा बढी निक्षेप संकलन गरेको हो । कर्जा प्रवाह भने गत वर्षभन्दा यस वर्ष २६ प्रतिशत बढी १ अर्ब ९१ करोड ३४ लाख भएको हो । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेकोमा यो वर्ष बढेर ४ दशमलव ६१ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर ६ दशमलव ५० नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ दशमलव ७८ रहेको छ ।
FACEBOOK COMMENTS