काठमाडौं । लोकप्रिय टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ टीमले पहिलो फिचर फिल्मको रुपमा ‘लाज शरणम’ निर्माण गर्ने घोषण गरेको छ । बुधबार बेलुका यो श्रृंखलाका सबै कलाकारले सामाजिक संजालबाट टाइटलको लोगो सेयर गर्दै फिल्मबारे जानकारी दिएका हुन् ।
फिल्मको घोषणा गरेका कलाकार कुमार कट्टेलले उक्त फिल्मको छायांकन बैशाख, जेठदेखी सुरु हुने बताएका छन् ।
उनले भने, ‘ हामीले चलचित्र निमार्ण गर्ने पहिलैदेखी सोच बनाएका थियौँ । त्यही सोचलाई अब पर्दामा ल्याउन जमर्को गरेका हौँ । अहिले नाम मात्र सार्वजनिक गरेका हौँ । फिल्मको निर्देशक र कलाकारको लाइनअप तयार भएको छैन् । हामीले फिल्मको स्क्रिपटमा सुहाउँने क्यारेक्टरमा कलाकार राख्ने छौँ । टीम भित्र र बाहीरबाट कलाकारहरु रहने छन् । ’
सोसल–कमेडी जनरामा बन्ने फिल्मले अहिले मुलुक र नागरिकले भोग्नुपरेको यथार्थ समस्यालाई चित्रण गर्ने उनले बताए ।
उनले थपे, ‘अहिले हामीले फिल्मको स्क्रिपट लेखिरहेका छौँ । बजेट बारे सोचेका छैनौँ । यद्यपि, २ करोड खर्च हुने अनुमान छ । अब खर्च घटबढ हुन पनि सक्छ । ’
सार्वजनिक गरिएको टाइटल लोगोमा जिग्री पाँडे टीम उल्लेख छ । यसको अर्थ, यो समूहभित्रैबाट कोहीले फिल्म निर्देशन गर्नेछ । यद्यपि, संयुक्तरुपमा पनि फिल्म निर्देशनको विश्वब्यापी अभ्यास छ ।
जिग्री पाँडे समूहले फिल्म बनाउने घोषणा गरेपछि निश्चल बस्नेत, दीपकराज गिरी, मनोज गजुरेल लगायतले शुभकामना दिइरहेका छन् ।
FACEBOOK COMMENTS