काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकले समितिको बैठक सञ्चालनसम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
सांसद राजेन्द्रकुमार केसी संयोजकत्वमा ऋषिकेष पोखरेल, रामकृष्ण यादव, डा अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहनेगरी कार्यविधि मस्यौदा निर्माण उपसमिति गठन गरिएको समितिका सचिव एकराम गिरीले जानकारी दिए । कार्यविधिको मस्यौदा तयार पारेर समितिको अर्को बैठकमा पेस गर्न भनिएको छ ।
समितिको आजको बैठकमा बैठक सञ्चालन कार्यविधि तयार पार्ने, समिति सभापति चयन गर्ने र समितिमा विचाराधीन तथा फर्छ्र्योट हुन बाँकी रहेका उजुरीका विषयमा छलफल भएको थियो ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएका बेरुजु फर्छ्र्योट, आर्थिक सुशासन, सरकारी कोषको प्रभावकारी र मितव्ययी खर्च भए÷नभएको जाँच पड्ताललगायतका महत्त्वपूर्ण क्षेत्राधिकार पाएको लेखा समितिको सभापति चयनमा ढिलाइ गर्न नहुने धारणा समिति सदस्यहरूले राखे ।
ज्येष्ठ सदस्यका रूपमा समितिको सभापतित्व गरेका सांसद अर्जुन नरसिंह केसीले सार्वजनिक लेखा समितिका काम कारबाहीमा कुनै आग्रह पूर्वाग्रह तथा पक्ष विपक्ष नहुने बताए । त्यस्तै, समिति अविछिन्न उत्तराधिकारीवाला संस्थाका रूपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुभन्दा अघिका उजुरीबारे पनि छलफल र छानबिन गरिनुपर्ने उनले बताए ।
समितिको आजको बैठकमा २०७६ साल वैशाख ३ गतेयता दर्ता भएका एक सय २१ उजुरीमाथिको छलफल तथा छानबिन टुङ्गाउने विषयमा पनि छलफल भएको छ । समिति सचिव गिरीका अनुसार हालसम्म एक सय २१ उजुरी समितिमा दर्ता भएर विचाराधीन अवस्थामा रहेका छन् । त्यस्तै, नयाँ संसद् आएपछि गठन भएको लेखासमितिमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको छ ।
समितिका सदस्यहरू राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बाँस्कोटा, रामकृष्ण यादव, योगेश भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मालगायतले समितिमा परेका सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्त्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राखे ।
FACEBOOK COMMENTS