ललितपुर । ललितपुर महानगरले ’ज्येष्ठ नागरिकसँग महानगर’ कार्यक्रमलाई विस्तार गरी निशुल्क थेरापीको सेवा समेत दिने भएको छ ।
महानगरभित्रका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको लागि संंचालित यो कार्यक्रमलाई विस्तार गरी थेरापी सेवा समेत दिन लागिएको महानगरले शुक्रबार आयोजित नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले महानगरमा स्थायी रुपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निमोनिया रोग विरुद्धको खोप दिने व्यवस्थालाई पनि निरन्तरता दिने बताए । यसैगरी नगरभित्रका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य नीति लागू गर्ने प्रमुखले बताए ।
ललितपुर महानगरले फागुन महिनालाई नसर्ने रोग परीक्षण महिनाको रुपमा व्याख्या गर्दै अभियान संचालन गर्ने भएको छ ।
शुक्रबार आयोजित सातौँ नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर, मोटोपन जस्ता नसर्ने रोग न्यूनीकरणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ यो अभियान संचालन गर्ने नीतिमा उल्लेख छ ।
FACEBOOK COMMENTS