काठमाडौं । तत्कालीन जिल्ला विकास समिति दोलखाका पूर्वसभापति एवम् कृषि अभियन्ता लालकुमार केसीले अहिलेका जनप्रतिनिधिहरू नाफा र कमिसनका लागि काम गर्ने गरेको आरोप लगाएका छन् ।
कर्पोरेट खबरसँग विशेष कुराकानी गर्ने क्रममा उनले स्थानीय तहको विकासका निम्ति पर्याप्त बजेट हुने गरेको भए पनि जनप्रतिनिधिमा खर्च गर्ने सामर्थ्य नभएको टिप्पणी गर्दै खर्च भएका बजेटमा पनि नाफा र कमिसनको ठूलो चक्कर चल्ने गरेको बताएका हुन् ।
‘स्थानीय तहमा विकास गर्नका निम्ति प्रशस्त बजेटहरू हुँदाहुँदै पनि जनप्रतिनिधिहरू बजेट नै छैन भन्छन् तर बजेट चाहिँ फ्रीज पठाउँछन । कुरा चाहिँ ठूला गर्छन् परिणाम चाहिँ शून्य दिन्छन्,’ दोलखाका सादगी नेता नेपाली कांग्रेसमा स्वर्गीय भीमबहादुर तामाङलाई सम्झिदै अभियन्ता केसीले भने, ‘त्यो बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजना देशको समुन्नति र विकास गर्न देशलाई लोडसेडिङमुक्त बनाउनलाई गरिएको डिजाइन थियो, आखिर हामी लागेपछि सफल पनि भयो ।’
तत्कालीन समयमा आफूहरू जनताको सेवाका लागि तल्लिन भएर काम गर्ने गरेको र धेरै कामको परिणाम समेत सोही समयमा निकालिएको भन्दै उनले अहिले पनि जनप्रतिनिधिले योजनाबद्ध ढङ्गले काम गरे परिणाम निकाल्न गाह्रो नभएको बताए । जनप्रतिनिधिहरूको थोरै बलमा पनि धेरै काम हुने समय रहेको भन्दै उनले काम हुँदाका बखत जस पाउने उनीहरू नै भएको स्पष्ट गरे ।
‘२०५४ सालमा म दोलखाको जिविस सभापति भएको थिएँ । त्यसबेला जनताको सामु हामी जे बोल्थ्यौँ त्यो काम पूरा गरेर देखाउथ्यौँ । त्यतिबेला हामी जनताको सेवाका लागि काम गर्थ्यौँ भने अहिलेका जनप्रतिनिधिहरू र राज्यका जिम्मेवार निकायका प्रतिनिधिहरू नाफा र कमिसनका लागि काम गर्ने गरेको पाइन्छ,’ उनले भने ।
आफू दोलखाको छोरो भएका कारण अहिले पनि दोलखाको विकासका निम्ति चिन्तन गरिरहेको बताउँदै उनले दोलखा कृषिका लागि सुहाउँदो हावापानी र प्रकृति भएकाले धेरै सम्भावना रहेको चर्चा गरे । उपयुक्त वातावरण हुँदाहुँदै पनि खेतीयोग्य जमिनहरू बाँझो हुनु दोलखाका लागि दुर्भाग्यको कुरा भएको उनको भनाइ छ । दोलखाको गौरीशंकर गाउँपालिकादेखि भीमेश्वर र जिरी नगरपालिका तथा मेलुङ र शैलुङ गाउँपालिकासम्मको वातावरणलाई हेर्ने हो भने तरकारी र फलफूलजन्य खेती गर्न मिल्ने हावापानी रहेको उनको भनाइ छ ।
यस्तै, उनले दोलखाका जनप्रतिनिधिहरू कृषि प्रविधि र प्राविधिक भित्र्याउन आनाकानी गरिरहेको बताएका छन् । कृषिका लागि परिस्थिति अनुसारको प्राविधिक भित्र्याउन नचाहने, कोही कसैले कृषिमा लगानी गर्छु भनेर काम गर्न खोज्यो भने जनप्रतिनिधिको तहबाटै विभिन्न परिस्थितिहरू सृजना गरी स्वयम् अवरोध खडा गर्ने प्रवृत्तिको विकास भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
उदाहरण दिँदै उनले भने, ‘दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित कालिन्चोक गाई फार्ममा दूग्ध विकास बोर्डको बीस लाख लगानी छ, त्यहाँको सामुदायिक बन शेयरधनी छ, विभिन्न गाउँपालिका तथा नगरपालिकाको पनि शेयर छ, यो गाई फार्म भनेको दोलखाली जनता आफूले गाई पाल्न चाह्यो भने अन्यत्र जान नपरोस् भन्ने योजनाअनुरूप अघि बढाइएको हो । तर, पछिल्लो समय विभिन्न मिडियाबाजी गरेर केही जनप्रतिनिधिसहितको संलग्नतामा बन्द गर्ने प्रपञ्च चलिरहेको देख्दा अत्यन्तै दुःख लाग्छ ।’
कृषि अभियन्ता केसीसँगको विस्तृत कुराकानी भिडिओमा हेर्नुहोस्–
FACEBOOK COMMENTS