काठमाडौं । नेकपा एमालेका सल्लाहकार परिषद् सदस्य लालकुमार केसीले पार्टीभित्र नेतृत्व सङ्कटमा परेका नेताहरूलाई दोलखा बोलाएका छन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलन तथा फागुन २१ को निर्वाचनले दिएको परिणामबाट सङ्कटमा परेका नेताहरूलाई उनले दोलखा बोलाएका हुन् । सङ्कटमा परेका भनिएका नेताहरूलाई केही समय ध्यान आवश्यक रहेको उल्लेख गर्दै उनले लप्ची गुम्बा उपयुक्त हुने भन्दै दोलखा बोलाएका हुन् ।
‘नेतृत्वमा रहेका जो–जसलाई सङ्कट आएको हो उहाँहरू केही समय ध्यानमा बस्नुस् । आउनुहोस् दोलखा ! गौरीशंकर हिमालको काखमा पवित्र शान्तिप्रिय लप्ची गुम्बा छन्,’ उनले पार्टी नेता सुरेन्द्र पाण्डेलाई ‘मेन्सन’ गर्दै फेसबुकमा लेखेका छन् ।
बिहीबार बिहान नेता पाण्डेले ‘नेताहरूको नेतृत्व सङ्कटमा परेपछि स्वार्थपूर्तिका लागि फेरि वामपन्थी एकताको वहस थालिएको’ आशय व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका थिए । उक्त धारणामाथि प्रतिक्रिया जनाउँदै सल्लाहकार केसीले सङ्कटमा परेका नेताजतिलाई दोलखा आउन निमन्त्रणा गरेका हुन् ।
नेता पाण्डेले के लेखेका थिए ?

हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि सङ्कट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा हुनुहुन्छ । हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?

नेकपा (एमाले) आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी हो । हामीले तात्कालिक राजनीतिक लाभमात्र हेरेर हुँदैन, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ । विचार र निश्चित गन्तव्य विनाको एकताले अन्तत: पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ । अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो । यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ ।

विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ । हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ । नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ ।