काठमाडौं । रियल इस्टेट ब्रोकर एजेन्सी लालपुर्जा नेपालले आगामी शुक्रबार ‘नेपाल प्रोपर्टी एक्स्पो’ आयोजना गर्ने भएको छ ।
आफ्नो ग्राहकहरूलाई घरजग्गा खरिद तथा बिक्री प्रक्रियामा थप सजिलो, छरितो र विश्वासिलो सेवा पुर्याउने उद्देश्यले प्रोपर्टी एक्स्पो आयोजना गर्न लागिएको हो ।
उक्त एक्स्पो आगामी शुक्रबार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म लबिङ मलमा आयोजना गर्न लागिएको लालपुर्जा नेपालका प्रबन्ध निर्देशक तथा सीईको सञ्जय नेपालले जानकारी दिए । एक्स्पोमा सहभागी हुनेहरूले विशेष सेवा सुविधा र छुटहरू प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
ग्राहकहरूलाई घरजग्गासम्बन्धी प्रत्यक्ष जानकारी र परामर्श दिनु, सेलरहरूलाई आफ्नो सम्पत्ति बजारमा प्रस्तुत गर्न सहयोग गर्नु, खरिदकर्ताहरूलाई सही निर्णय लिन मार्गदर्शन गर्नु तथा बैंक र ऋणसम्बन्धी जानकारी एकै ठाउँबाट प्रदान गर्नु यो एक्स्पोको उद्देश्य रहेको लालपुर्जा नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
एक्स्पोमा रियल इस्टेटसम्बन्धी प्रत्यक्ष परामर्श, योग्य र अनुभवी एजेन्टहरूबाट प्रत्यक्ष सल्लाह, किनबेच, कानुनी प्रक्रिया, मूल्य निर्धारण आदिमा स्पष्ट जानकारी, सर्भिस फी मा विशेष छुट, सीमित अवधिका लागि सेवा शुल्कमा विशेष छुट र घरजग्गा बेच्ने वा किन्ने दुबै प्रक्रियामा लाभदायक अफरहरू आकर्षणका रूपमा रहेका छन् ।
यस्तै, रियल इस्टेटमा करियर बनाउने सोच भएकाहरूका लागि आवश्यक परामर्श, विद्यार्थी, युवा, वा इच्छुक व्यक्तिका लागि करियर काउन्सिलिङ र ‘रियल इस्टेट कसरी सुरू गर्ने’ विषयमा जानकारीमूलक छलफलसमेत एक्स्पोमा उपलब्ध गराइने सीईओ नेपालको भनाइ छ ।
त्यस्तै, बैंकिङ र ऋणसम्बन्धी परामर्शका साथै गृह ऋण, मोर्टगेज, ब्याजदर तुलना आदिसम्बन्धी विस्तृत जानकारी पनि एक्स्पोबाट उपलब्ध गराइने छ ।
FACEBOOK COMMENTS